काठमाडौं- आत्मघाती गोलको सहयोगमा बार्सिलोना विजयी भएको छ। च्याम्पियन्स लिगको ग्रुप 'एफ'अन्तर्गत गएराति भएको खेलमा बार्साले स्लाभिया प्रगमाथि २-१ को जित निकालेको हो।
खेलको तेस्रो मिनेटमै अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले आर्थरको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गोलसँगै मेस्सी च्याम्पियन्स लिगका लगातार १५ सिजनमा गोल गर्ने खेलाडी बनेका छन्।
म्यानचेस्टर युनाइटेडका रायन गिग्सले १६ च्याम्पियन्स लिग सहभागितामा गोल गरेका छन्। तर, उनले लगातार गोल गर्न भने सकेका थिएनन्।
यसबाहेक स्लाभिया च्याम्पियन्स लिगमा मेस्सीले गोल गरेको ३३औं टोली बनेको छ। जुन रेकर्ड क्रिस्टियानो रोनाल्डो र राउलसँगको बराबरी समेत हो।
घरेलु समर्थकको साथ पाएको स्लाभियाले १ गोलले पछि परेको अवस्थामा पनि आफ्नो आक्रामक अन्दाजलाई भने जारी राखेको थियो। यद्यपि उसलाई पहिलो गोलका लागि दोस्रो हाफको पाचौं मिनेटसम्म कुर्नुपर्यो।
चेक रिपब्लिक च्याम्पियन स्लाभियाका लागि १६ यार्डबाट लुकास मसोपुस्टले दिएको पासलाई सहजै जान बोरिलले गोलमा परिणत गरेका थिए।
खेल बराबरी भएको ७ मिनेटपछि नै मेस्सीको फ्रि-किकमा ब्याक पोस्टमा रहेका लुइस स्वारेजले दिएको फाइनल टच स्लाभियाका पेटर ओलयिन्कालाई लाग्दै जाली चुमेको थियो।
खेलमा ५२ प्रतिशत समय बल आफ्नो पक्षमा पारे पनि बार्साका गोलकिपर टेर स्टेगेन स्लाभियाका खेलाडीको प्रहार रोक्न धेरैपटक सक्रिय हुनुपरेको थियो। स्लाभियाले २४ पटक बार्सातर्फ प्रहार गरेकोमा ९ पटक बल गोलपोष्ट केन्द्रित थियो। उता १३ प्रहार गरेको बार्साका ७ प्रहारमात्रै स्लाभियाको गोलपोष्ट केन्द्रित हुन सकेको थियो।
जितसँगै बार्सा अंकतालिकामा २ जित र १ बराबरीका साथमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। ग्रुप 'एफ'मै रहेको इन्टर मिलान पनि गएराति नै भएको खेलमा बोरुसिया डर्टमुन्डलाई २-० ले हराउँदै दोस्रो स्थान आइपुगेको छ।
यसैबीच गएराति भएका अन्य खेलहरुमा आरबी लिपजिग, चेल्सी, नापोली, लिभरपुल, बेनफिका विजयी भए। लिल्ली र भ्यालेन्सियाले १-१ गोलको बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।