राँची- भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २ सय २ रनले जितेको छ। जितसँगै तीन खेलको शृङ्खला भारतले ३-० ले 'क्लिन स्विप' गरेको छ।
चौथो दिनको खेलमा मंगलबार पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम दुई विकेट पतन भएको थियो। भारतका लागि अन्तिम २ विकेट शाहबाज नदिमले लिएका थिए।
.jpg)
भारतले घरेलु मैदानमा लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्डसमेत कायम गरेको छ। यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो।
दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ। भारतसामु तीनमध्ये दुई वटा खेलमा दक्षिण अफ्रिका इनिङको फराकिलोले अन्तरले पराजित भएको हो। एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो।
भारतले पहिलो इनिङमा ४ सय ९७ रन बनाई पारी समाप्तीको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुवै पारीमा खराब प्रदर्शन गरेको थियो। दक्षिण अफ्रिका पहिलो पारीमा १ सय ६२ रनमा अलआउट हुँदै 'फलो अन'मा परेको थियो। दोस्रो पारीमा दक्षिण अफ्रिकी टोली १ सय ३३ रनमै समेटिएको थियो।
शृंखलामा भारतीय ब्याट्सम्यान मयाङ्क अग्रवाल (२ सय १५), विराट कोहली (२ सय ५४ अविजित) र रोहित शर्मा (२ सय १२) ले दोहोरो शतक बनाएका थिए।
.jpg)
भारतीय टिमका प्रशिक्षक रवी शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताए। उनले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको जिकिर गरे।
भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुवै टेस्ट जितेको थियो। यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले समान १०/१० विकेट लिएका थिए।
जितसँगै आइसिसी टेस्ट च्याम्पियनसिपअन्तर्गत भारत स्पष्ट ४० अंक थप्दै अंकतालिकाको शीर्ष स्थानमा कायमै छ। हालसम्म खेलिएका सबै ५ खेलमा जित निकाल्दै भारतले २ सय ४० अंक जोडिसकेको छ। दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको ६० अंकमात्र छ। उसले २ खेलमा एकमा मात्रै जित हात पारेको छ।
भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध दुई टेस्ट र तीन टी-२० प्रतियोगिता भारतमै खेल्दैछ। तर, यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरुले तलव वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।