इटहरी- 'दसैं भर्खरै सकियो। तिहारले छपक्कै छोपिसक्यो। घरमा चामल सकिएको छ। छोराले पैसा नपठाएको पनि ६ महिना भइसक्यो। भएकी बुहारी पनि अर्कैसँग हिँडी। श्रीमान् पनि रोगले थला परेका छन्। सानी नातिनीले केही काम गर्न दिन्न। गाँउका सबैले तिहारको बन्दोबस्त गरिसके। छाक टार्नै मुस्किल छ,' मोरङ सुन्दरहरैचा-७ की पुष्पा राईले नेपाल लाइभकर्मीसँगको भेटमा एकसासमा सुनाइन्। २ वर्षकी सानी नातीनी खोलाको डिलमा राखेर ढुङ्गा भेला पार्नै हतारो थियो उनलाई। त्यही ढुङ्गा र बालुवा बेचेर तिहार टार्ने तयारीमा रहेको बताइन् उनले।
'श्रीमानको औषधि। चामल, दाल, मासु र नातीनीलाई एक सरो कपडा। सबै यही ढुङ्गा बेचेर किन्नुपर्ने छ,' भर्खरै ५१ लागेकी राईले सुनाइन्। हर्कबहादुर पनि पुष्पासंगै ढुङ्गा भेला पार्न खोलामै भेटिए। बिरामी परेर औषधि खाँदै गरेका भए पनि खोलामा ढुंगा भेला नपारी गुजारा चलाउन गाह्रो छ उनलाई। गछिया खोलामा बाढी आउँदा ल्याएका ढुङ्गा संकलन गरी पैसा कमाएर उनीहरूको परिवारको जीविका चलेको छ।
खोलामा जहिलेसुकै ढुंगा तथा बालुवा संकलन गर्न पाइँदैन। असारदेखि असोजसम्म बन्द हुने भएकाले उनीहरुले कार्तिकबाट मात्र ढुंगा बालुवा संकलन गर्न पाउँछन्। दसैंको खर्च जसोतसो टारे पनि तिहारका लागि भने खोलामा भर पर्नुपरेको बताए।
दुई छोरीसहित ५ जनाको परिवारको तिहारको हुने खर्चको भर खोलाको बालुवा र ढुङ्गामै छ।
बिहानभरमा एक थुप्रो ढुङ्गा भेला पारिन् राईले। दुई जना छोरीहरूको स्कुल छुट्टी भएपछि उनलाई आजकल बालुवा चाल्न फुर्सद मिलेको छ।
'दिनभरमा एक ट्याक्टर ढुङ्गा भेला पार्न सके ८ सय रुपैयाँ आउँछ। यही ८ सय जिउने सहारा हो,' उनले भनिन्।
छोरा साउदी गएको ३ वर्ष हुनै लाग्यो। नातिनी भर्खर दुई पूरा भईन्। छोरा हिँडेको १ बर्ष मै बुहारी बेपत्ता भइन्। उनकै भाषामा बुहारी ‘पोइला’ गइन्। अहिले घरमा पुष्पासहित ४ जना बस्छन्। श्रीमान् दमको रोगी भएकोले उनको स्याहारसुसार र औषधि पनि त्यही ढुङ्गा बेचेरै गर्नुपर्ने छ उनलाई।
छोराले पैसा नपठाएको पनि ६ महिना पूरा भयो। छोरीहरू संगीता र विनीता क्रमशः ९ र ७ मा पढ्छन्। स्कुल छुट्टी भएपछि उनीहरु पनि खोला जान थालेका छन्। केही दिन बालुवा चाल्ने र नयाँ लुगा किन्ने योजना छ उनीहरुको। तिहारमा घुम्न जाने पनि योजना छ। केही दिन अघि साथीहरुले घुम्न जाउँ भन्दा पैसा नभएर जान पाइनन् उनी। त्यही भएर पनि अब पैसा कमाउनैपर्ने भएको छ उनलाई।
नजिकै ट्याक्टरमा बालुवा भरिरहेका सूर्यमान राईको पनि कथा त्यस्तै छ। दुई वर्ष साउदीमा काम गरेर फर्किएका हुन् उनी।
एउटा काममा भनेर गएका उनले अर्कै काम गर्नुपर्यो। तातो घाममा धेरै कठिन काम गर्नुपर्ने भयो। कहिल्यै नभोगेको दुःख भोगेर घर फर्किएको उनी सुनाउँछन्। नेपाल आए लगत्तै बिहे गरेका उनको अहिले ३ महिनाकी छोरी छन्।
बाबुआमा वृद्ध भइसकेका छन्। श्रीमतीलाई छोरी र बाबुआमाको स्याहारमै ठिक हुन्छ। जेनतेन ऋणपान गरेर दसैं मनाएका उनलाई तिहार आँउदैछ भन्दा मन चसक्क हुन्छ। साथीभाईले छोरी श्रीमती/परिवारलाई सामान किन्दिए भनेर सुनाउँदा आफ्नो मन भारी भएको बताउँछन् उनी। ‘सबै कुराको औषधि रहेछ। गरिबीको रैनछ,’ उनी भन्छन्।
दैनिक ५ सय रुपैयाँ ज्याला पाउने कहिलेकाहीँ काम नपाएर बेकामे पनि हुन्छन्।
सूर्यमान र पुष्पालाई मात्र हैन गछिया किनारका हरेक श्रमिकको चाडपर्व समस्याको रुपमा देखा परेको छ।
गछिया किनारका ३ सय परिवारको चाडपर्व र रोजीरोटी सोही खोलाबाट चल्ने गरेको छ। चाडबाडको मुखैमा बढेको महंगीले उनीहरुको ढाडमात्र सेकेको छैन, मुख नै बन्द गर्न लागेको छ।
चाडबाडको रौनकले गाउँ सहर झपक्कै छोपेको छ। किनमेलले बजार भरिभराउ भइरहेको छ। सहरमा डेरा गरी बस्नेहरु गाउँमा फर्कन थालेका छन्। फूलमाला र मिष्ठान्नको जोहो भइरहेको छ। घर आइनपुगेकाहरू सहरमा किन्ने सामग्री छानिरहेका होलान्। गछिया किनारबासी यही चाडमा खुसी साट्न खोलामा बालुवा चालिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।