काठमाडौं- नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ सार्वजनिक भएको छ।
नेपाल पर्यटन बोर्डमा अमेरिकी समाजशास्त्री बार्बरा निम्री र लेखककी आमा लगायतले पुस्तकको विमोचन गरे।
पुस्तकमाथि बोल्दै बार्बराले योगमाया ‘योगवाणी’ का माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेको बताइन् । विज्ञान र इतिहासभन्दा पनि माथि रहेकी योगमायालाई आख्यानीकरण गर्नु ठूलो चुनौती रहेको उनको भनाइ थियो।
अर्का वक्ता समालोचक कृष्ण गौतमले लुकिरहेको योगमायाको इतिहासलाई उपन्यासले उधिन्ने काम गरेको बताए। 'ठूला मान्छेहरुको मात्र इतिहास लेखिन्थ्यो,' उनले भने, 'जनताको इतिहास कम लेखिन्छन्। त्यसमा पनि एउटी साहसी महिलाको इतिहासको दस्तावेज हो यो उपन्यास।'
भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया निरंकुश राणाशासनको विरोध गर्ने साहसी महिलाको रुपमा चिनिन्छिन्। त्यो बेलाको अशिक्षित समाजलाई संगठित गरी विद्रोह चेत भर्नमा उनको ठूलो योगदान छ।
उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।