काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरी डिसेम्बरबाट विश्व स्वास्थ्य संगठनमा जाने भएकी छिन्।
सचिव चौधरीले विशिष्ट श्रेणीको सरकारी सेवा त्यागेर संगठनको जागिर खान जान लागेकी हुन्।
विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पी-फाएभ लेभलमा जागिर खान जानकै लागि उनले सर्वोच्चको मुद्दा पनि फिर्ता लिइएको बुझिएको छ।
संगठनमा यसअघि नै उनले लिखित र अन्तर्वार्ता प्रकृतिका मूल्यांकनमा नाम निकालिसकेकी छिन्।
डा चौधरीले भारतको कार्यालयमा मातृ तथा बाल स्वास्थ्य कार्यक्रम हेर्ने बताइएको छ।
तर, यसका लागि नेपाल सरकारले सचिव चौधरीको राजीनामा भने स्वीकृत गर्नुपर्ने हुन्छ।
उक्त पदका लागि पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मीले समेत अनलाइनमार्फत परीक्षा दिएकी थिइन्। डा रेग्मीसहित डा चौधरीको लिखितमा नाम निस्केको थियो। तर, अन्तर्वार्तामा भने डा चौधरीको निस्केपछि उनलाई जागिरको ढोका खुलेको हो।
स्वास्थ्य सचिव हुँदा नियमविपरीत सरुवा गरेको मुद्दा डा पुष्पा चौधरीले गत शुक्रबार फिर्ता लिएकी छन्।
चौधरीले स्वास्थ्य मन्त्रालयवाट प्रधानमन्त्री कार्यालय तानेपछि त्यस विरुद्ध सर्वोच्चमा २०७५ कात्तिक १५ गते रिट दायर गरेकी थिइन्।
उक्त रिटलाई हालै उनले फिर्ता लिने निवेदन सर्वोच्चमा दिएकी थिइन्। निवेदकले नै रिट फिर्ता लिन निवेदन दिएपछि सर्वोच्चको दुई न्यायाधीशको संयुक्त इजलासले शुक्रबार उनको मागअनुसार हुने आदेश गरेको हो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले स्वास्थ्य सचिव चौधरीको मुद्दा फिर्ता दिने आदेश गरेको हो।
उनको निवेदनमा सुरुमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनी स्वास्थ्य मन्त्रालयमै फर्केकी थिइन्।
सर्वोच्चको आदेशपछि स्वास्थ्य मन्त्रालयमा दुई सचिव भएका थिए। चौधरीले अन्तरिम आदेश लिएर पुन: स्वास्थ्य मन्त्रालय फर्केपछि सरकार पनि भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो।
२०७५ असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध डा चौधरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। तर, सरकारले स्वास्थ्य मन्त्रालयमा भने दुई जना सचिवको व्यवस्था गरेको छ।
दुई जना सचिव भएपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सचिव चौधरीको जिम्मेवारी समेत कटौती गर्दै लगेका छन्।
सरकारले संघीय निजामति सेवा ऐन ल्याए लगत्तै सचिव चौधरीलाई अन्यत्र सरुवा गर्ने खतरा रहेपछि सचिव चौधरीले सुरक्षित रुपमा अकर्षक सेवा सुविधा पाइने विश्व स्वास्थ्य संगठनमा जान खोजेको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।