नेपालगन्ज- शसस्त्र प्रहरी बलको एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। सोमबार भएको उपाधि भिड्न्तमा एपिएफले न्यु-डायमण्ड एकेडेमीमाथि ३–२ को कठिन जित निकाल्यो।
डायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो। दोश्रो र तेश्रो सेटमा खेलमा फर्कदै एपिएफले २५–२१ र २५–१६ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो। चौथो सेटमा शिवम् न्यु डायमण्डले पुनरागमन गदैे २५–२१ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो। रोमाञ्चक बनेको अन्तिम सेटमा भने २ पटक डायमन्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेल एपिएफले १९–१७ ले जित्यो ।
रोमाञ्चक बनेको फाइनलमा डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन। तर उनको टिमले भने उपाधि जित्न सकेन। एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिईन् प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी पुरस्कृत भइन।
एपिएफले २ लाख, उपविजेता न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार पायो। बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशील कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, आयोजक कमिटी अध्यक्ष टिएस ठकुरी लगायतले प्रदान गर्नु भएको थियो ।
फागुनको ३ देखी सुरु भएको प्रतियोगिताको पहिलो टोलीको पुरस्कार सुशील कोइराला प्रतिष्ठानले प्रायोजन गरेको थियो। प्रतियोगितामा २ विदेशी टोली सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।