चितवन– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्सको 'प्लेइङ–११' मा पर्ने आशा व्यक्त गरेका छन्।
सोमबार गृहजिल्ला चितवन पुगेका सन्दीपले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दिल्लीको पहिलो रोजाइमा पर्ने विश्वास व्यक्त गरेका हुन्। 'दिल्लीमा भएको ट्रायलमा बलिङमा क्षमता देखाएको थिए। त्यसैको आधारमा छनोट हुन सफल भएको हु,' उनले भने। आइपिएल खेल्ने धेरैअघि देखिको बताएको बताएका सन्दीपले छनोट भएको क्षण अविस्मरणीय भएको बताए।
फरक प्रसंगमा सन्दीपले जिम्वाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा शीर्ष २ स्थान हात पार्दै विश्वकप खेल्ने दाबी गरे।
सन्दीप गत महिना दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए। आइपिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास बनाएका सन्दीप २० भारुमा आवद्ध भएका हुन्। आइपिएलमा छनोट हुँदा दुबईमा रहेका सन्दीप त्यतैबाट आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नामिबिया पुगेका थिए।
डिभिजन–२ मा नेपालले शीर्ष २ स्थान हात पार्दै उत्कृष्ट बलिङ गरेका सन्दीप १७ विकेट हात पार्दै म्यान अफ दि सिरिज भएका थिए। गत शनिबार स्वदेश फर्किएको सन्दीपसहितको नेपाली टिम आगामी साता जिम्बावे प्रस्थान गर्दैछ। एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो खेल २० फागुनमा आयोजक जिम्बावेसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।