सन् १९९८ जनावरी २१ मा अमेरिकाको चर्चित पत्रिका ‘लस एन्जलस टाइम्स’को खेलकुद पृष्ठमा एउटा समाचार छापिएको थियो, ‘अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा बहिनीलाई पराजित गरेपछि दिदीले माफी मागिन्।’
बहिनीलाई पराजित गर्ने दिदी थिइन्, भेनस विलियम्स । १७ वर्षीया भेनसले आफूभन्दा एक वर्ष कान्छी बहिनी सेरेनालाई पराजित गरेकी थिइन् । बहिनीलाई पराजित गरेपछि उनले भनेकी थिइन, ‘खेल जितेकोमा खुसी छु, तर सेरेनालाई हराएकोमा माफी माग्न चाहन्छु।’
यो खेल विलियम्स दिदीबहिनीबीच पहिलो आधिकारिक प्रतिस्पर्धा थियो । त्यो दिनदेखि अहिलेसम्म यी विलियम्स दिदीबहिनीबीच टेनिस कोर्टमा प्रतिस्पर्धा चलिरहेको छ । दुबैले एक–आपसमा २८ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमा सेरेना १८ तथा भेनस ११ पटक विजयी भए।
यिनीहरुबीच एक–अर्का विरुद्ध प्रतिस्पर्धा मात्र भएको छैन, दुबै मिलेर डबल्सतर्फ २२ उपाधि जितिसकेका छन् । जसमा १४ वटा त ग्रान्डस्लाम उपाधि मात्र छ । तीन पल्ट उनीहरुले ओलम्पिक मेडल पनि जितेका छन्।

अमेरिकी विलियम्स दिदीबहिनी झैं नेपालमा पनि महिला टेनिसमा राणा दिदीबहिनी मायान्का र माहिकाको वर्चश्व छ । यी दुबै नेपाली टेनिसमा महिलातर्फ शीर्ष वरियताका खेलाडी हुन् । यिनीहरुबीच विलियम्स दिदीबहिनीभन्दा एउटा कुरा फरक छ, दुबै जुम्ल्याहा हुन्।
दुबैको उमेर १६ वर्ष मात्र छ । दिदी मायान्का नेपालकी नम्बर–१ टेनिस खेलाडी हुन् । माहिका दोस्रो वरीयतामा छिन् । हाल महिला टेनिसको मुख्य प्रतिस्पर्धा यी दिदीबहिनीबीचमै सीमित हुने गरेको छ । पछिल्लो दुई वर्षमा मायान्का र माहिकाबीच राष्ट्रिय स्तरको प्रतियोगितामा उपाधिका लागि तीन पटक भिडन्त भएको छ । जसमा मायान्काले दुई तथा माहिकाले एक जित हात पारेका छन्।
दिदी मायान्का बहिनीसँगको प्रतिस्पर्धाको अनुभव सुनाउँछिन्, ‘कोर्टमा प्रतिस्पर्धाको भावना हुन्छ, जसले हारे पनि दुःख लाग्दैन । आखिर जितेपछि ट्रफी घरमै भित्रिने हो।’
सानैमा मायान्का र माहिका नेपालको शीर्ष वरियतामा उक्लिनुमा परिवारको भूमिका ठूलो छ । दुबैको पारिवारिक पृष्ठभूमि खेलकुद क्षेत्रकै हो । बुवा मनोज राणा पूर्व खेलाडी हुन् । उनी दुई कार्यकाल लनटेनिस संघको अध्यक्ष समेत भएका थिए । आमा ज्योति राणा हाल संघको अध्यक्ष छिन्।

पिता मनोज राणासँग मायान्का र माहिका
‘हाम्रो पृष्ठभूमि खेलकुद भएकाले होला, छोरीहरुलाई कुनै अप्ठ्यारो भएन’, पिता मनोजले भने । उनी अहिले भेट्रान्स टेनिसको ५५ वर्षमाथि राष्ट्रिय च्याम्पियन हुन्।
पारिवारिक माहौलकै कारण मायान्का र माहिकाले ६ वर्षकै कलिलो उमेरमा र्याकेट समाएका थिए । सुरुमा रमाइलोका लागि टेनिसमा झ्याम्मिएका दिदीबहिनी बिस्तारै प्रतिस्पर्धामा उत्रिएका थिए । बहिनी माहिका भन्छिन्, ‘जुनियर प्रतियोगितामा भाग लिन थालेपछि प्रतिस्पर्धाको भावना आउन थाल्यो र खेलमा अझै निखार आयो।’
माहिकाले सन् २०१२ मा युथ–१२ प्रतियोगिता जित्दै पहिलो ट्रफी चुमेकी थिइन् । मायान्काले भने सुरुदेखि नै जुनियर प्रतिस्पर्धामा वर्चश्व जमाइन् । मायान्काको त्यो फर्म अहिले पनि कायम छ । मायान्काले अहिलेसम्म राष्ट्रिय स्तरमा ६ उपाधि जितिसकेकी छिन्।

दुई वर्षअघि सम्पन्न भएको सातौं बृहत् राष्ट्रिय खेलकुदमा मायान्का राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । उनले सशस्त्र प्रहरी बलले आयोजना गर्ने सहवीर स्मृति लनटेनिस प्रतियोगिता दुई पटक, सिटिजन्स बैंकले गरेको प्रतियोगिता दुई पटक र ललितपुर ओपनर टेनिस दुई पटक जितिसकेकी छिन्।
माहिकाले भने हेटौंडाको समरी स्लामरी स्लाम टेनिस दुई पटक जितेकी छिन्।
यी दुबै सातौं बृहत् राष्ट्रिय खेलकुदमार्फत सिनियर प्रतियोगितामा पनि उदाएका थिए । सातौंपछि मायान्का शीर्ष वरीयतामा पुगेकी थिइन् । मायान्काले सिंगल्स, डबल्स र टिम इभेन्टमा गरी तीन स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनी राष्ट्रिय प्रतियोगितामा एकैपल्ट तीन स्वर्ण जित्ने पहिलो नेपाली महिला लनटेनिस खेलाडी पनि हुन्।
सातौंको महिला एकलको फाइनलमा बहिनी माहिका पनि फाइनलमा पुगेकी थिइन् । उनी यतिबेला आफ्नै दिदीसँग पराजित भइन्।
महिला टेनिसका यी अब्बल र कडा प्रतिस्पर्धी अन्तर्राष्ट्रिय टेनिसमा अमेरिकी विलियम्स दिदीबहिनीको खेललाई पछ्याउँछन्।
‘दुबै महिलातर्फ टेनिसका उत्कृष्ट खेलाडी हुन् । दुबैमा सकारात्मक पक्ष छ । उमेर ढल्किँदा पनि मिहिनेत र फिटनेसमा कुनै कमी हुन दिएका छैनन्’, दुबैको भनाइ छ।
मायान्का र माहिकामा विलियम्स दिदीबहिनी जस्तै धेरै समानता छ । महत्वपूर्ण समानता त दुबै दिदीबहिनीका प्रशिक्षक उनीहरुका बुवा हुन्।
‘विलियम्स दिदीबहिनी जस्तै हाम्रो पनि पहिलो प्रशिक्षक बुवा हुनुहुन्छ । उनीहरु पनि बुवाको प्रेरणाले उत्कृष्ट खेलाडी बने । हामीलाई पनि टेनिसमा अगाडि बढ्न बुवाले ठूलो प्रेरणा दिनुभएको छ’, मायान्का भन्छिन्।

मायान्का राणा
मायान्काले पछ्याउने अन्य अन्तर्राष्ट्रिय टेनिस खेलाडीमा स्विट्जरल्यान्डका रोजर फेडेरर पनि पर्छन् । फेडेररको शान्त स्वभाव मायान्कालाई औधी मनपर्छ । बहिनी माहिका भने सेरेनाकी ‘डाइहार्ट फ्यान’ हुन्।
फेडेरर र सेरेना ती खेलाडी हुन्, जो मायान्का र माहिका जन्मिनु अगाडि नै टेनिसमा जमेका थिए।
सेरेनाको खेल्ने शैली, सकारात्मक सोच माहिकालाई खुब मनपर्छ । सेरेना जस्तै माहिका पनि खेलको दौरान अलि आक्रामक बन्छिन्।
‘माहिका खेलको दौरान अलि आक्रामक हुन्छे । धेरै बेर नथाकी खेल्न सक्छे’, बहिनीको खेलको तारिफ गर्दै मायान्का भन्छिन्।

माहिका राणा
मायान्का भने फेडेरर जस्तै शान्त स्वभावकी छिन् । आफ्नो दिदीको राम्रो पक्ष उजागर गर्दै माहिका भन्छिन्, ‘उनी शान्तसँग खेल्छिन् । सकारात्मक सोच भरपूर छ।’
सन् २०१४ मा दक्षिण कोरियाको इञ्चोनमा भएको एसियन गेम्समा यी दुबैले भाग लिएका थिए। दुई वर्षअघि भारतमा आयोजित १२औं दक्षिण एसियाली खेलमा एसियन गेम्सको अनुभव प्रयोग गर्ने उनीहरुको सोच थियो । तर, त्यतिबेलै एसएलसी परीक्षा परेपछि उनीहरुको सपना अधुरै रह्यो।
हाल ब्रिटिस स्कुलमा ‘स्पोट्र्स साइकोलोजी’ पढिरहेका दिदीबहिनी टेनिसलाई निरन्तरता दिन चाहन्छन् । उनीहरु भारतकी सानिया मिर्जाले अन्तर्राष्ट्रिय टेनिसमा कमाएको ख्यातिबाट प्रभावित भएर आफूहरु टेनिसमा लागेको बताउँछन्।
उमेरसमूहमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका उनीहरुले आफूहरुले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा राम्रो गर्ने आत्मविश्वास सँगालेका छन् । यसका लागि उनीहरु विलियम्स दिदीबहिनीको देश अमेरिका गएर ट्रेनिङ लिने योजनामा छन्।
‘हाम्रो पहिलो प्राथमिकता टेनिस हो’, दुबै भन्छन्– ‘यसैले हामी अमेरिकामा टेनिस छात्रवृत्ति पाउन प्रयासरत छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।