लाहोर– पाकिस्तानका पूर्व क्रिकेट कप्तान तथा नेता इमरान खानले तेस्रो विवाह गरेका छन्। उनले आध्यात्मिक प्रशिक्षक बुशरा मनेकासँग आइतबार विवाह गरेको पाकिस्तान तहरीके इन्साफ (पिटिआई) पार्टीका प्रवक्ता फवाद चौधरीले बताएका छन्। मनेका ५ सन्तानकी आमा हुन्। विवाह मनेकाको घरमा पारिवारिक सदस्यका बीच भएको थियो।
मनेकासँगको तेस्रो विवाहले दुवै परिवार र देशका लागि राम्रो परिणाम ल्याउने इमरानले बताएका छन्। यसअघि पनि इमरानको तेस्रो विवाहको विषयमा हल्ला चलेको थियो। तर, उनले यस कुराको खण्डन गरेका थिए। उनले त्यतिबेला एक महिलासँग आफूले विवाहका लागि प्रस्ताव राखेको र ती महिला आध्यात्मिक प्रशिक्षक भएको बताएका थिए।
पिटिआई प्रवक्ता चौधरीले इमरानले विवाहका लागि प्रस्ताव राखेको र दुवैका छोरा–छोरीले स्विकृति दिएपछि मात्र विवाह भएको बताएका छन्। सन् १९९२ को विश्व कप क्रिकेट आफ्नो कप्तानीमा पाकिस्तानलाई जिताएका इमरानले बेलायती व्यापारीकी छोरी जेमिमा गोल्डस्मिथसँग पहिलो विवाह गरेका थिए।
यो जोडीबाट २ छोरा भएको थियो। ९ वर्ष जेमिमासँग सम्बन्धमा रहेका इमरानले त्यसपछि तलाक लिएका थिए। गत वर्ष उनले टेलिभिजन पत्रकार ४२ वर्षीय रेहम खानसँग दोस्रो विवाह गरेका थिए। तर, यो सम्बन्ध १० महिनामै टुँटेको थियो। यी दुवैले आपसी सहमतिमा तलाक लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।