रियो दि जेनेरियो- ब्राजिलियन फुटबलरहरु पहिलेदेखि नै बललाई विपक्षीकाअघि छल्याउन पोख्त मानिन्छन्। तर बाहिया स्टेट च्याम्पियनसिपअन्तर्गत गएराति आयोजक बाहिया र भिक्टोरियाबिचको खेलमा भने त्यसको ठिक विपरित अनुभव भयो। खेलका क्रममा बललाई छल्याउनेभन्दा पनि खेलाडी कुटपिटमा उत्रीएपछि मैदानमा तनावपूर्ण माहोल बन्यो।
सो खेलमा रेफ्रीले १० रातो र ८ वटा पहेँलो कार्ड देखाएका थिए। जसमध्ये दुबै टोलीका समान ५/५ खेलाडी रातो कार्ड खादैँ मैदानबाट बाहिरिएका थिए।
शान्त वातावरणमा चलेको खेलको पहिलो हाफमा घरेलु टोली बाहियाका लागि डेनिलसनले पहिलो गोल गरे।

तर दोस्रो हाफको ५ मिनेटमा भिक्टोरियाका लागि पेनाल्टीको अवसर मिल्यो र सुरु भयो तनाव। पेनाल्टीमा गोल गरेपछि भिक्टोरियाका भिनिसिअसले घरेलु दर्शकका अघि गएर नाचेर खुशी मनाउन थाले।
तर त्यहि समयमा अराजक व्यवहार देखाएको भन्दै बाहियाका खेलाडीहरु कुटपिटमा उत्रिए। दुबै टोलीका खेलाडीहरुका बिचमा भएको सो कुटपिटलाई नियन्त्रणमा लिन रेफ्रीले बाहियाका ५ तथा भिक्टोरिका ३ खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिरको दिशा देखाइदिए। रेड कार्ड पाउनेमा गोल गर्ने भिनिसिअससहित ३ सब्स्टिच्युट खेलाडीसमेत थिए।

ब्राजिलकाे साल्भाडोरमा करिब १६ मिनेट मैदानभित्र चलेको तनावपछि खेल सुरु भयो मात्र १४ खेलाडीको साथमा।
तर जब भिक्टोरियाका थप दुई खेलाडीलाई दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनु पर्यो तब रेफ्रीले खेल सकिन ११ मिनेट बाँकि रहँदा खेललाई नै रद्द गरिदिए। खेल अवधिभर रेफ्रीलाई थप ८ वटा पँहेलो कार्डको पनि प्रयोग गर्नु परेको थियो। घरेलु टोली बाहियाले ३–० ले जित्ने लक्ष लिएको खेल अन्ततः निकै खराब र तनावपूर्ण स्थितीमा रद्द हुन पुग्यो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।