दमौली- बुधबार राति चितुवाले खाएका तनहुँको भानु नगरपालिका ३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठको परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ।
पीडितको परिवारलाई तत्काललाई किरिया खर्चवापत शनिबार ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए। जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त रकम दिएका थिए।
जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा १० लाख रुपैयाँ राहत रकम दिने कानूनी व्यवस्था छ।
चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए।
सो घटना भएलगत्तै काठमाडौंको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन खोजी गरे पनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।