(आइतबार बौद्धस्थित श्रोङचेन भृकुटी स्कुलमा आयाेजित कार्यक्रम)
काठमाडौं- नेपालमा बस्दै आएका तिब्बती शरणार्थीले ‘स्वतन्त्र तिब्बत’ सम्बन्धी गतिविधि बढाएका छन्। राजनीतिक संक्रमणको फाइदा उठाउँदै उनीहरुले विभिन्न कार्यक्रमका नाममा आफ्नो सक्रियता बढाएका हुन्।
प्रशासनले समेत यस विषयमा चासो दिन नसक्दा उनीहरुको गतिविधि बढेको हो। आइतबार ल्होसारको अवसरमा नेपालमा रहेका तिब्बती शरणार्थीहरुले एक कार्यक्रम गरेका छन्।
उनीहरुले २१४५औं ग्याल्पो ल्होसारको उपलक्षमा आइतबार बिहान बौद्धस्थित श्रोङचेन भृकुटी स्कुलमा पूजा एवं सांस्कृतिक कार्यक्रम गरेका हुन्। जसमा करिब ५ सय तिब्बती शरणार्थी सहभागी थिए। ल्होसार मनाउने कार्यक्रम भनिए पनि त्यो फ्रि तिब्बत गतिविधिलाई सक्रिय बनाउने योजनाअुनसार आयोजना गरिएको स्रोत बताउँछ।
दलाई लामाको नेपालस्थित प्रतिनिधिको कार्यालयको आयोजनामा कार्यक्रम भएको स्रोतको भनाइ छ। दलाई लामाको निर्वासित संसदका सदस्य टासी ढण्डुपलाई प्रसुख अतिथि बनाएर कार्यक्रम आयोजना गरिएको थियो।
नेपालस्थित दलाई लामाको प्रतिनिधिको कार्यालयले स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि गर्दै आएको छ।
आइतबार भएको कार्यालयमा सो कार्यालयका कार्यालय सचिव मिङ्मार दोर्जे, तिब्बती शरणर्थीलाई सहयोग गर्दै आएको स्नोलाइन फाउन्डेसनका प्रमुख छिरिङ टोप्गेल, जावलाखेलस्थित तिब्बती शरणार्थी क्यापका प्रमुख छिरिङ ढण्डुप लगायत उपस्थित थिए।
दलाई लामा निर्वासित भएको मिति मार्च १० नजिकिन लागेकाले उनीहरुले उक्त दिन स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि बढाउने योजना अघि सारेका छन्।
नेपाल सरकारले ‘एक चीन’ नीति लिएकाले स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि नियन्त्रण गर्दै आएको छ। तर, विभिन्न संस्थाहरुको सहयोगमा यस्ता गतिविधि गोप्य रुपमा चल्दै आएका छन्। चीनले भने आफ्नो देशविरोधी गतिविधि रोक्न आग्रह गर्दै आएको छ।
फ्रि तिब्बतका झन्डा खुलेआम बिक्री
फ्रि तिब्बत पक्षधरहरुले बनाउने झन्डाहरु खुलेआम रुपमा ठमेल तथा बौद्धका पसलमा बिक्री गर्न राखिएको छ। भारतीय तथा शरणार्थीहरुले नै संचालन गरेका पसलमा यस्ता झन्डा राखिएका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा भने चीन विरोधी गतिविधि हुन नदिन आफूहरुले निगरानी कायमै राखेको बताउँछन्। कसैले चीन विरोधी गतिविधि गरे कारबाही गरिने उनले जनाए।
चीन पक्षको संस्था पनि सक्रिय
चीन सरकारको निकट भएर काम गर्ने तिब्बती शरणार्थीहरुको संस्था पनि सक्रिय भएको छ। सन् १९५९ मै स्थापना भएको सुकेदेन दोर्जे नामक संस्था सक्रिय भएको हो।
सो संस्थाले गत ४ जनवरीदेखि ६ जनवरीसम्म अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलनका नाममा होटल याक एन्ड यतीमा एक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधान, एमाले नेता कृष्णगोपल श्रेष्ठ, पूर्वमन्त्री शंकर कोइराला लगायत उपस्थित थिए। सो संस्थाले एक चीनका पक्षमा काम गर्न थालेको स्रोत बताउँछ। जसको प्रमुख बसुन्धरा श्रेष्ठ नामक महिला छिन्।
नेपालमा करिब २० हजार तिब्बती शरणार्थी बस्दै आएका छन्। जसमध्ये १३ हजार ४ सय १५ जनासँग मात्र शरणार्थी परिचयपत्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।