काठमाडौं– एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स तथा पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बने।
शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा एचएचसीएले भ्याली पब्लिकलाई ५९–५४ ले पराजित गर्यो। एचएचसीएको जितमा तेन्जिङ राईले १८ अंक योगदान गरे।
सिनियर गल्र्समा भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई १९–१७ को साँघुरो अन्तरले हरायो । भ्याली पब्लिककी सुजु गुरुङले १६ अंक जोडिन्। जुनियर ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले रेडिअन्टमाथि ३०–२१ को जित दर्ता ग¥यो । पुष्पसदनका लागि रोजिन महर्जनले १३ स्कोर गरे।
सिनियर ब्वाइजमा एचएचसीएका तेन्जिङ राई, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्टि श्रेष्ठ तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा एआईए, सिनियर गल्र्समा श्रीदिवा र जुनियर ब्वाइजमा एभरेष्टले अनुशासित टिमको उपाधि हात पारे।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवर, एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा र प्रिन्सिपल पीयूशकुमार रोयले एक कार्यक्रमबीच पुरस्कृत गरे।
सो अवसरमा भारतमा भएको यु–१६ गल्र्स फिबा एसिया बास्केटबल च्याम्पियनसिपमा सहभागी ममता गुरुङ तथा नेपालमा भएको यु–१६ ब्वाइज साबा बास्केटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका निखिल डंगोल, आशिष बस्नेत र अभिषेक सिंहलाई सम्मान गरिएको थियो । फिफा रेफ्री कविन व्यञ्जन्कार पनि त्यसै अवसरमा सम्मानित भए ।ममता र निखिल इनोभेटिभमै अध्ययनरत छन् भने आशिष, अभिषेक र कविन इनोभेटिभकै पूर्व विद्यार्थी हुन् ।
माघ २६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।