काठमाडौं– जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार विज्ञप्ति मार्फत पारस खड्काको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको हो।
१५ सदस्यीय नेपाली टिममा गत साता नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेका १४ खेलाडी र थप खेलाडी समावेश छन्। यसअघि वैकल्पिकमा रहेका युवा स्पिनर ललितनारायण राजवंशी राष्ट्रिय टिममा परेको आइसिसीले जनाएको छ। यस्तै, नेपाली टिम स्रोतका अनुसार विनोद भण्डारीलाई वैकल्पिक खेलाडीमा राखिएको छ। भण्डारी नामिबियामा भएको डिभिजन–२ प्रतियोगिताका लागि वैकल्पिकमा समेत परेका थिएनन्।
पहिलोपटक नेपाली टिममा परेपछि राजवंशीले खुसी लागेको बताए। 'वैकल्पिकमा परेपछि टिममा पर्छु जस्तो लागेको थियो,' उनले नेपाल लाइभसँग भने, 'अब जिम्बावेमा शतप्रतिशत खेल्ने मेरो कोसिस हुनेछ।' विराटनगराका स्थायी बासिन्दा ललितले सन् २०१५ देखि नेपाली युवा टिमबाट खेल्न थालेका थिए।
प्रतियोगिताका लागि नेपाली टिमले केही दिनपछि तयारी सुरु गर्नेछ। एक साता तयारी गरेपछि नेपाली टिम जिम्बावे प्रस्थान गर्नेछ।
डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ।
फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल खेलेको ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ। त्यसअघि नेपालले २ वटा 'वार्मअप' खेल खेल्नेछ। नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ।
समूह 'ए'मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।
विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।