एजेन्सी– तपाईं कसरी खानुहुन्छ ? छिटो, ढिला या ठीक्कैसंग । खाने तरिका सबैको आ–आफ्नो हुन्छ । तर, यदि तपाईं मोटोपनाबाट पीडित हुनुहुन्छ भने ढिला खानुस् । ढिला खाए मोटोपना रोक्न सकिन्छ भन्ने तथ्य जापानी अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन् । जापानमा ६ वर्ष लगाएर ५९ हजार ७ सय १७ जनामा गरेको अनुसन्धानले छिटो–छिटो खाना खाने मानिसमा भन्दा ढिला या सामान्य हिसाबले खाने मानिसमा मोटोपना हुने सम्भावना कम भएको देखाएको हो ।
अध्ययनमा छिटो खाना खान्छु भनेर बताउने ४४.८ प्रतिशत मानिस मोटोपनाको समस्याबाट पीडित थिए भने ढिला खान्छु भन्ने २१.५ प्रतिशत अन्यको तुलनामा कम मोटा थिए ।
जापानीहरुले टाइप टु डाइबिटिज भएका मानिसको स्वास्थ्य परीक्षण गरेर अनुसन्धान गरेका थिए । उनीहरुले छिटो खाना खाने या डिनर पछि स्न्याक्स खाने जस्ता अन्य बानीले मोटोपनालाई असर परे नपरेको बारे जान्न चाहेका थिए । अध्ययनका क्रममा केहीमानिसले आफ्नो खाने गतिमा परिवर्तन गरे । त्यसक्रममा ढिला खाने बानी भएका मानिसमा मोटोपना हुने सम्भावना कम भएको पाइयो । ‘तर खाने बानी परिवर्तन मोटोपना घटाउने रणनीतिका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिदैंन भनेर यो अध्ययनबाट भन्न सकिदैंन,’ अध्ययनकर्ताहरु भन्छन् ।
तर भन्न सकिनेकुरा के हो भने ढिला खाँदा हामीले अघाएको थाहा पाउँदै जान्छौं र कम खान्छौं । चाँडो खाँदा भने अघाएको संकेत दिने हार्मोन नै निस्कन पाउँदैंन । यस्तै, बिस्तारै खाँँदा खानाको क्यालोरी पनि घट्न सहयोग गर्छ । तर अध्ययनका क्रममा क्यालोरीबारे भने हेरिएको थिएन ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको सहयोगमा क्युशु विश्वविद्यालयका विज्ञहरुले यो अनुसन्धान गरेका थिए । अध्ययनको नतिजा बीएमजे जर्नलमा प्रकाशित छ । (एनएचएस अनलाइनबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।