काठमाडौं– लामो समयदेखि चर्चामा रहेको अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटीको निर्माणको दोलखामा शिलान्यास भएको छ। दोलखाको डाङ्डुङे डाँडामा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले शिलान्यास गरेका हुन्।
कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा केही चलचित्रकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुको पहलमा फिल्म सिटी निर्माण हुन लागेको हो। सेतीदेवी सामुदायिक वनको एक हजार ५ सय क्षेत्रफलमा फिल्म सिटी निर्माण हुनेछ।
बोर्ड अध्यक्ष पौडेलले नेपाली तथा विदेशी फिल्म मेकरहरुलाई लक्षित गरी आवासगृहसहित चलचित्र छायांकनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना निर्माण गर्ने परियोजना रहेको बताइन्।
फिल्म सिटी निर्माण गर्न नेपाल सरकारको साथका साथै केही दिनमै नेपाली र विदेशी कम्पनीहरुलाई समावेश गर्ने योजनासहित टेन्डर आह्वान गरिने समेत जानकारी दिइयो। फिल्म सिटीको निर्माण ५ देखि १० वर्षभित्र पूरा गर्ने लक्ष्य छ।
फिल्म सिटीभित्र पाँचतारे होटल, चलचित्र निर्माणका लागि आवश्यक संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना तयार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।