काठमाडौं– नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द आवद्ध पेर्सिजा जार्कताले इन्डोनेसियाको प्रेसिडेन्ट कपको उपाधि जितेको छ। शनिबार भएको तेस्रो संस्करणको फाइनलमा पेर्सिजाले बाली युनाइटेडलाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
पेर्सिजाको जितमा मार्को सिमिकले २ गोल गरेका थिए भने एक गोल नोर्भी स्टेइवानले गरेका थिए। सिमिकले खेलको २० मिनेटमा गोल गरेर पेर्सिजालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा सिमिकले पेर्सिजाको अग्रता दोब्बर पारे। सिमिकलाई गोल गर्न रोहित चन्दले पास उपलब्ध गराएका थिए। कर्नर एसियाबाट रोहितले उपलब्ध गराएको क्रसमा सिमिकले बाइसाइकल प्रहार गर्दै जाली चुमाएका थिए।
६३ मिनेटमा पेर्सिजाले तेस्रो गोल गर्न सफल भयो। नोर्भी स्टेइवारले पेर्सिजाका लागि तेस्रो गोल गरेका थिए। उनलाई पनि रोहितले डिबक्स नजिकबाट उपलब्ध गराएका थिए। रोहित विगत चार सिजनदेखि इन्डोनेसियाबाट फुटबल खेलिरहेका छन्।
खेल जकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा भएको थियो। इन्डोनेसियाको राष्ट्रपति जोको विडोडो पनि उपस्थित भएका थिए। रंगशालामा ७० हजार बढी दर्शक उपस्थित थिए।
खेलको भिडियो
:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।