नेपालगन्ज– पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यु डायमन्ड एकेडेमी र एपिएफले सोमबार प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालगन्ज कभर्ड हलमा आइतबार भएको सेमिफाइनल खेलमा शिवम् न्यु डायमन्डले बंगलादेशको इफाटलाई तथा एपिएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन्।
नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाइनल खेलमा शिवम् न्यु डायमन्डले बंगलादेशको इफाट ग्रुपमाथि २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो। शिवम् न्यु डायमन्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ दी म्याच भइन्। नेपाली महिला भलिबलमा महत्वपूर्ण स्पाइकरको रुपमा लामो समय देखि खेल्दै आएकी मञ्जु शिवम्को दोस्रो ओपन स्पाइकरको भूमिकामा छिन्।
सरस्वती चौधरी वुमन अफ दी म्याच भएको अर्को सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हरायो।
बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।