ह्यामिल्टन- त्रिकोणात्मक टि–ट्वान्टी शृंखलाअन्तर्गत इंग्ल्यान्डले न्युजिल्यान्डमाथि २ रनको रोमान्चक जित हात पारेको छ। न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा पराजित भए पनि न्युजिल्यान्डले आगामि बुधबार अष्ट्रेलियासँग हुने शृंखलाको फाइनल खेलका लागि आफ्नो स्थान पक्का गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल खडा गर्यो। उसका लागि इयान मोर्गनले ८० रनको कप्तानी पारी खेले। खेलका प्लेयर अफ दि म्याच समेत रहेका मोर्गनले आफ्नो पारीमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए।
त्यस्तै डविड मलनले २ चौका र ५ छक्काको मदतले ५३ रन बनाए। बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिँदा टिम साउथीले २ तथा कोलिन ग्रान्डहोम र इस सोढीले समान १/१ विकेट लिए।

१ सय ९५ रनको लक्ष पछ्याएको न्युजिल्यान्ड २ रनले पछि पर्यो। मात्र ४ विकेट गुमाएको न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले ६२, कोलिन मुनरोले ५७ तथा मार्क चापम्यानले ३७ रन जोडे पनि टोलीको जितका लागि पर्याप्त भएन।
न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेपनि ९ रन मात्र जोड्न सक्दा पराजित हुन पुगेको हो। इंग्ल्यान्डका टम कुरान, आदिल रसिद, लियाम ड्वासन र डविड मलनले समान १/१ विकेट लिए।
इंग्ल्यान्डसँग पराजित भए पनि नेट रनरेटमा अघि रहँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो। दुबै टोलीले समान ४ खेलमध्ये ३ मा हार व्यहोरेका थिए भने एक खेलमा एक अर्कालाई पराजित गरेका थिए।
उता सबै खेलमा जित हात पारेको अष्ट्रेलिया यसअघि नै फाइनलमा पुगीसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।