काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा व्यवसायीहरुबाट गुणस्तर जाँचका लागि लिएको सुनचाँदीको नमूना 'गायब' पारेको खुलेको छ।
साविक आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले २०६९ सालदेखि परीक्षणका लागि भन्दै लिएको सुनचाँदी लगायतका गहना गायब गरिएको खुलेको हो। व्यवसायीहरुका अनुसार अनुगमनका क्रममा १ सयभन्दा बढी पसलबाट प्रतिपसल १ देखि २ तोलासम्म सुन लिइएको थियो।
काठमाडौं, पोखरा, धरान लगायतका सहरका सुनचाँदी पसलबाट परीक्षणका लागि भन्दै नमूना संकलन गरिएको थियो।
बजार अनुगमनका क्रममा सुनचाँदीलगायत गहनाको नमूना विभागले ल्याउने गरेको भए पनि फिर्ता नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए। शाक्यले नमूनाका रुपमा ल्याएका धेरै गहना फिर्ता नभएको बताए पनि त्यसको परिणाम कति छ भन्नेबारे केही खुलाएनन्।
शाक्यले सरकारी निकायबाट भविष्यमा आफूहरुलाई अफ्ठ्यारो पर्नसक्ने देखिएपछि आफूहरु चुप लागेर बसेको स्पष्ट पारे। उनले भने, 'लामो समयदेखि सुन फिर्ता नभएपछि अहिले हामीहरुले गुनासो गरेका हौं,' उनले भने।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन यसमा व्यवसायी र कर्मचारीको मिलेमतो हुनसक्ने बताउँछन्। व्यवसायीहरुले पनि आफ्नो सुन किन फिर्ता नगरिएको महत्त्वपूर्ण विषय रहेको बताए।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले आफूले यो विषयका बारेमा केही दिन अघिमात्र जानकारी पाएको बताए। विभागले आज सुनचाँदी व्यवसायी तथा उपभोक्ताहरुसँग बजार अनुगमनलाई तीव्रता दिने विषयमा छलफल डाकेको थियो। सो क्रममा व्यवसायीले यसअघि लिइएको नमूना फिर्ता गर्नुपर्ने विभागसँग माग राखेपछि रहस्य बाहिर आएको हो।
विभागले सुनचाँदी र आभुषण व्यवसायीले लिँदै आएको ज्याला, जर्तिलगायत मूल्यका विषयमा एकरुपता नरहेको गुनासो आएको भन्दै छलफल राखेको जनाएको छ। विभाग महानिर्देशक गौचनले व्यवसयीले नमूना सुन फिर्ता गर्नुपर्ने विषय उठाएपछि उक्त सुनको खोजिकार्य सुरु गरिने स्पष्ट पारेका थिए।
अनुगमनका क्रममा खटिएका अनुसन्धान अधिकृत लगायत सबैमाथि सोधखोजसमेत सुरु गरिएको उनको भनाइ छ।
काठमाडौंमा मात्रै करिब ४० पसलमा अनुगमन भएको व्यवसायीको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।