काठमाडौं (एजेन्सी)– ब्राजिल फुटबल टिमका प्रशिक्षक टिटेले यसै वर्ष रुसमा आयोजना हुने फिफा विश्व कप फुटबल प्रतियोगिताका लागि सम्भावित ११ खेलाडीको छनोट गरिसकेका छन्। चिनियाँ समाचार संस्था सिन्हवाले जनाएअनुसार ब्राजिलका ५६ वर्षीय प्रशिक्षकले ११ खेलाडीबाहेक टिममा २३ मध्ये ८ खेलाडीको स्थान मात्र खाली छ।
विश्व कप १४ जुनदेखि १५ जुलाईसम्म आयोजना हुनेछ। चोटग्रस्त खेलाडीलाई छोडेर प्लेइङ–११ मा तीन फरवार्ड गाब्रियल जेसस, नेइमार र फिलिप काउटिन्हो रहेका छन्।
डफिल्डमा रेनाटो अगस्टो, पाउलिन्हो र कासेमेरोलाई स्थान दिइएको छ। चार जना डिफेन्डरमा मार्सेलो, मार्किन्होस, मिरान्डा र डेनियल आल्भेस छन्। गोलकिपरको भूमिकामा एलिसन रहनेछन्। यी खेलाडीसँगै फर्नान्डिन्हो, विलियान, थियागो सिल्वा र रोबटरे फिरमिनोको स्थान पनि सुरक्षित छ।
टिटेको सूचीमा अब केही खेलाडीले मात्र स्थान पाउने बताइएको छ। उनले भने, ‘टिममा त्यही खेलाडीको स्थान मात्र पक्का छ, जसले क्लब र राष्ट्रिय टिमका लागि लगातार राम्रो प्रदर्शन गरिरहेका छन्।’ अन्तिम आठ खेलाडीमा एडरसन, सिफन्हा, एलेक्स सान्ड्रो, डगलस कोस्टा, फिलिप लुईस र आर्थरको सम्भावना बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।