हुम्ला- नेपाल ग्रामीण पुनर्निर्माण संस्था/सामुदायिक विकास कार्यक्रम (सिडिपी) हुम्लाले आगलागी पीडित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।
सर्केगाड गाउँपालिका–७ कार्कीबाडामा गत माघ १३ गते आगलागी भई १४ घर नष्ट भएको थियो। सामुदायिक विकास कार्यक्रमले सर्केगाड गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा विपद्सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ। सोही गाउँपालिकाको कार्कीबाडा बस्तीमा भएको आगलागी पीडितहरुलाई राहत सामग्री दिएको हो।
पीडितहरुलाई कम्बल ३२, डसना १६, ह्यान्डवास डेटल १६, डेटल साबुन ६४, बाल्टिन १६, टुथ ब्रस ४८, कोलगेट १६, तौलिया १६, स्यानेटरी प्याड १६, मग १६, र नेलकटर १६ थान वितरण गरिएको कार्यक्रम संयोजक उपेन्द्रकुमार राईले बताए। उनीहरुलाई एक लाख ८३ हजार बराबरको राहत सामग्री वितरण गरिएको हो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।