काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा शीर्ष दोस्रो स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोटमा समावेश भएको नेपाली क्रिकेट टिम टोली शनिबार राति घर फर्कियो।
नेपाली टिमको सफलतामा युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ भएका सन्दीपले १७ विकेट लिएका थिए। विमानस्थलमा उनले देशको लागि खेल्दै उपलब्धि हासिल गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
‘हाम्रो लागि प्रतियोगिता राम्रो सावित भयो। अब एकदिवसीय विश्वकपमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिन सक्छौं भन्नेमा आशावादी छु,’ उनले भने।
उनले आफू विगत दुई वर्षदेखि नेपाली टिमको सदस्य रहेको र मौका पाउँदा सबै खेलमा राम्रो प्रदर्शन गर्ने आफ्नो लक्ष्य रहेको बताए। ‘कहिले विकेट लिन सक्छु, कहिले सक्दिन। तरपनि सबै खेलाडीले सत प्रतिशत दिइरहेका हुन्छन्। त्यही सोच नामिबियामा मेरो पनि थियो। नामिबियामा सफल हुन सकेँ। एकदमै खुसी लागिरहेको छ’, उनले भने।
नामिबियामा गरेको प्रदर्शनले आइपिएलमा पनि राम्रो खेल्न सक्ने आत्मविश्वास बढेको उनले बताए।
‘उनीहरुले पनि मेरो खेल पछ्याइरहेका छन्। नामिबियामा गरेको प्रदर्शनले आइपिएलमा पनि असर पार्छ भन्ने विश्वास छ,’ उनले भने।
नामिबियामा खेलबाहेक अन्य समयमा दिल्लीका सिइयोसँग कुरा हुने गरेको उनले खुलासा गरे।
‘उहाँले राम्रो प्रदर्शन गरेकोमा बधाई दिनुभयो। दिल्लीको बलिङ कोचले पनि मेरो बलिङलाई लिएर ’वेल डन’ भनिराख्नु हुन्थ्यो। उहाँले यसलाई निरन्तराता दिनु भन्नुभएको छ’, उनले भने।
डिभिजन–२ को सबैभन्दा अविस्मरणीय क्षण क्यानडा विरूद्ध १ विकेटको जित भएको उनले बताए।
‘यो मलाई मात्र होइन सबै नेपाली क्रिकेटप्रेमीलाई थाहा छ’, उनले भने– ‘त्यो क्षण अविश्वसनीय थियो। जुन तरिकाले करण केसी दाइले जिताउनै पर्छ भन्ने इख लिएर जानुभएको थियो। उहाँले त्यो दायित्व पूरा गर्नुभयो।’
उनले क्यानडाविरूद्धको खेल जितेपछि आफ्नो आँखामा आँसु आएको बताए। ‘नेपाली क्रिकेटप्रेमीलाई यसरी नै माया दिइरहनु होला भन्न चहान्छु। नेपाली क्रिकेटलाई माथि उठाउन म सक्दो प्रयास गर्नेछु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।