बार्सिलोना- स्पेनिस ला लिगामा बार्सिलोनाले कीर्तिमानी जित हात पारेको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित एइबारलाई २-० गोलले पराजित गर्दै बार्सिलोनाले अपराजित खेल संख्या ३१ पुर्याएको छ। योसँगै बार्सिलोनाले सन् २०१०-११ को सिजनमा आफैले बनाएको कीर्तिमानसँग बराबरी गरेको हो।
बार्सिलोनालाई जित दिलाउने क्रममा लुइस सुआरेजले १६ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। ६६ मिनेटमा एइबार १० खेलाडीमा सीमित बन्यो। एइबारका ओरेलाना दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। खेल सकिन २ मिनेट बाँकी छदा जोर्डी अल्बाले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।
जितसँगै ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २४ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको २३ खेलबाट ५२ तथा तेस्रो स्थानको भ्यालेन्सियाको २४ खेलबाट ४६ अंक छ। साविक विजेता रियल म्याड्रिडको २२ खेलबाट ४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।