इंग्ल्यान्ड- रोमेलु लुकाकुको २ गोलको मदतले एफए कपमा म्यानचेस्टर युनाइटेड(म्यान्यु)ले हडर्सफिल्ड टाउनमाथि २–० को जित हात पारेको छ। जितसँगै म्यानचेस्टरले लगातार नवौँ पटक एफए कपको पाचौँ चरण पार गरेको छ।
खेलको तेस्रो मिनेटमै स्पेनका जुवान माटाको क्रसमा लुकाकुले टोलीलाई अग्रता दिलाए। म्यानचेस्टरका लागि सन् २०१३ को जनवरी २६ मा फुलह्यामका विरुद्ध रायन गिग्सले २ मिनेट ४ सेकेन्डमा गरेको गोलपछि यो नै सर्वाधिक छिटो गोल हो। लुकाकुले २ मिनेट ३६ सेकेन्डमा गोल गरेका थिए।

पहिलो हाफको अन्त्यमा माटाले गरेको गोललाई अफसाइड भएको भन्दै भिडियो एसिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएनन्। तर २ मिनेट समय खर्चेर गरेको सो निर्णय पनि सहि वा गलत के थियो भन्नेमा विवाद उत्पन्न भएको थियो।
तर सो गोललाई मान्यता नदिएपनि ओल्ड ट्राफोडमा हुने क्वाटरफाइनल खेलका लागि ब्राइटनसँग म्यान्चेस्टरको भेटलाई असर गरेन।

दोस्रो हाफको सुरुवाती अवस्थामै बेल्जियम स्ट्राइकर लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे। एलेक्सिस सान्चेजको पासमा हडर्सफिल्डको डिफेन्स लाइनलाई छक्काउँदै लुकाकुले जारी सिजनमा गोल संख्यालाई २१ पुर्याएका हुन्। एफए कपको पछिल्ला १० सहभागितामा लुकाकुको यो व्यक्तिगत ११औँ गोल हो।
इंग्लिस प्रिमियर लिगको अंक तालिकामा १७औँ स्थानमा रहेको जारी हडर्सफिल्डले कडा चुनौती पेश गरे पनि गोल गर्नबाट चुक्यो। पहिलो हाफमा खेल आफ्नो पक्षमा पारेको हडर्सफिल्डले केहि राम्रा अवसरहरु सिर्जना गरेको थियो।

हडर्सफिल्डले म्यानचेस्टरविरुद्ध खेलेका पछिल्ला १४ खेलमा मात्र १ खेलमा जित हार्न सफल भएको छ।
एफए कपअन्तर्गत नै गएराति भएका पाचौँ चरणका अन्य खेलहरुमा साउथह्याम्पटनले वेस्ट ब्रोमविच अल्विवनलाई २–१ तथा ब्राइटन एन्ड होभ अल्विवनले कोभेन्ट्री सिटीमाथि ३–१ को जीत दर्ता गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन्। सेफिल्ड वेनस्डे र स्वान्सिया सिटीले भने गोलरहित बराबरी खेलेका छन्।
आज हुने एक मात्र खेलमा टोटनह्याम हट्सपरले रोचडालेको सामना गर्नेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।