नेपालगन्ज- पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। शनिबार भएको खेलमा एपिएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ।
वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपिएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबमाथि २५–१२,२५–१४ र २५–९ को सहज जित निकाल्यो। आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो। समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाइनलमा स्थान बनाएको छ।
बाँकेको नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्यु डायमन्डले भारतको देहरादुन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गर्यो। क्विक स्पाइकर ललिता नाथ वुमन अफ दी म्याच बनेको खेलमा शिवम् न्यु डायमन्डले देहरादुन स्पोर्ट्स क्लबलाई २५–८,२५–९ र २५–४ को सेटमा पाखा लगायो। पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार बेहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिँदा पुलिसले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ।
फाइनल प्रवेशका लागि एपिएफ र पुलिस तथा शिवम् न्यु डायमन्ड र पाहुना टिम इफाटबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।