सेन्चुरियन (एजेन्सी)– विराट कोहलीको अविजित १ सय २९ रनको सहयोगले भारतले घरेलु दक्षिण अफ्रिकाविरूद्ध छैटौं एकदिवसीय खेल पनि ८ विकेटले जितेको छ।
अन्तिम एकदिवसीय खेलमा भारतका युवा बलर शार्दुल ठाकुरले ४ विकेट लिएपछि अफ्रिका पहिलो इनिङमा २ सय ४ रनमा समेटिएको थियो। प्रतिउत्तरमा कप्तान कोहलीको शतकीय इनिङका कारण भारतले ३२ दशमलव १ ओभरमा अफ्रिकालाई पराजित गर्यो।
भारतले ८० रनको अवस्थामा शिखर धवन (१८) र रोहित शर्मा (१५) लाई गुमाइसकेको थियो। तर, त्यो परिस्थितिलाई उल्ट्याउँदै विराट र अजिङक्य रहाणेले १ सय २६ रनको शतकीय साझेदारी गरे। रहाणेले अविजित ३४ रन बनाए।
शुक्रबार रातीको खेलमा कोहली विस्फोटक शैलीमा प्रस्तुत भए। उनले १९ चौका र २ छक्काको सहयोगले ९६ बलमा १ सय २९ रन बनाएका थिए। उनको शृंखलामा यो तेस्रो शतक थियो भने एकदिवसीयमा ३५ औं।
यसअघि शार्दलले अफ्रिकी भूमिमा ४ विकेट लिने तीब्र बलर बन्न एडम मार्कराम, हसिम अमला, फरहान बेहार्डिन र फेलुकवायोलाई आउट गरेका थिए। उनको पहिलो खेल थियो।
भारतले एकदिवसीय शृंखला ५–१ ले आफ्नो पोल्टोमा पारेको छ। विराटले ६ खेलमा ५ सय ५८ रन बनाए। उनी दुई देशबीचको एउटै शृंखलामा अत्याधिक रन बनाउने व्याट्सम्यान पनि बनेका छन्। छैटौं खेलको म्यान अफ दि म्याच र शृंखलाको उत्कृष्ट खेलाडी दुवै कोहली भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।