(पहिलो लहरः बायाँबाट दायाँ) नारायण शाह, निलेन्द्र विक्रम शाह, नोज विक्रम शाह, नर शमशेर राणा, दलमान सिंह थापा, पिएस लामा, प्रेम खवास
(पछाडि उभिएकोः बायाँबाट दायाँ) इन्द्र थापा, सुधिर लामा, दिलिपसिं आले, जीवन देवान, सतिश लामा, नकुल शमशेर जबरा, कुमार सिंह, रणधीर थापा, सिबी चाम्लिङ, लालबहादुर खड्का, धैर्य चन्द
२०१० सालमा रक्षा दलले तेस्रो पल्ट रामजानकी कप जितेपछि सिंहदरबारस्थित रक्षा बाहिनीमा आकस्मिक बैठक बस्यो। बैठकको विषय थियो– नेपालमा लिग फुटबलको संरचनालाई जीवित राख्न के गर्ने? रक्षा दलले २००८ सालदेखि आधिकारिक रूपमा सुरु भएको लिगको तीनै संस्करण जित्दै रामजानकी कप पच पारेको थियो।
त्यसैले बैठक निकै लम्बियो। रक्षा बाहिनीका आइजी थिए, ज्ञानबहादुर याकथुम्बा। नर शमशेर राणाको लगभग तीन वर्षको कार्यकाल सकिएपछि भर्खरै आइजी नियुक्त भएका याकथुम्बाकै नेतृत्वमा सिंहदरबारभित्र बैठक भइरहेको थियो।
बैठकमा रक्षा बाहिनीका खेलाडीले प्रस्ताव राखेछन्, रामजानकी कपलाई किन सहिद नामकरण नगर्ने। वास्तवमा रक्षा बाहिनीका सबै खेलाडीले २००७ सालको स्वतन्त्रता आन्दोलनमा सक्रिय भएर लडेका थिए। त्यसैले उनीहरू राणाविरोधी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा लिगको नाम राख्न चाहन्थे। यो प्रस्ताव याकथुम्बालाई खुब मन परेछ। उनी तुरुन्त राजी भए।
बैठकले निर्णय गर्यो, नेपालमा लिग फुटबलको अवधारणा मर्न नदिन रक्षा दलले रामजानकी कपको स्थानमा तत्कालीन नेपाल फुटबल संघलाई सहिदहरूको नाममा एउटा ट्रफी निर्माण गरेर हस्तान्तरण गर्ने। र, त्यो ट्रफीको नाम सहिद स्मारक लिग राख्ने। बैठकमा सर्वसम्मत निर्णय त भयो, तर ट्रफी निर्माणका लागि आवश्यक पैसा कहाँबाट जुटाउने?
त्यतिबेला रक्षा बाहिनीसँग खेलकुद गतिविधिका लागि खर्च गर्न छुट्टै रकम थिएन। २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि लडेको कांग्रेसको मुक्ति सेना समावेश गरेर रक्षा दल गठन गरिएको थियो। त्यसैले त्यही बैठकबाट अर्को प्रस्ताव पनि पास भयो, सहिदको नाममा बनाइने सिल्डका लागि आवश्यक रकम रक्षा दलमै कार्यरत सुरक्षाकर्मीबाट उठाउने।
फुटबलको यो अभियानलाई सबै सुरक्षाकर्मीले साथ दिए। चन्दाका रूपमा १–२ रुपैयाँ उठाउने काम तीव्र बनाइयो। रक्षा दलले १४ हजार रुपैयाँमा नेपालमै सिल्ड बनायो। र, आइजी याकथुम्बाले २०११ सालमा यो सिल्डलाई ‘सहिद स्मारक लिग’ नामकरण गर्दै नेपाल फुटबल संघलाई उपहार दिए। जुन लिग नेपाली फुटबलको सबैभन्दा महत्वपूर्ण र पुरानो हो।
६२ वर्षअघिको यो घटनाका साक्षी हुन्, सांगे छिरिङ लेप्चा। जो नेपाल पुलिस फोर्समा सुधीर लामा र नेपाली फुटबलमा ‘मामा’ नामले चिनिन्छन्। दार्जीलिङको सिङ्माडीमा जन्मेका लामा २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनाबाट जनकपुरमा लडेका थिए।
उनी किशोरावस्थामै ‘३१ बंगाल डिफेन्स बटालियन’ मा भर्ना भए। तर, २००७ सालअघि भारतको कोलकातामा उनी आबद्ध बटालियन टुक्रियो। उनी दोधारमा परे, अवकासबाट प्राप्त पैसा बोकेर दार्जीलिङ फर्किने या कोलकातामै बस्ने। तर, उनको हिमचिम नेपालमा राणाविरोधी आन्दोलनमा होमिएका नेपालीसँग भइसकेको थियो। यसैको प्रभावले उनी पटनामा रहेका कांग्रेस नेता सुवर्ण शमशेरको सम्पर्कमा पुगे। सुवर्ण शमशेर नेपालमा सशस्त्र युद्धको तयारीका लागि पटना बसेर अवकासप्राप्त आर्मी भर्ना गर्ने अभियानमा थिए। सुवर्णकै निर्देशनपछि लामा पहिलो पल्ट २००७ सालमा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरीको कमान्डमा जनकपुरमा लड्न गएका थिए।
आन्दोलनको सफलतासँगै उनी पनि मुक्ति सेनाबाट रक्षा दलमा समावेश भए। रक्षा दलमै भर्ना हुँदा उनको नाम सांगे छिरिङ लेप्चाबाट सुधीर लामा भएको थियो। उनको नाम परिवर्तन हुनुमा पनि रमाइलो घटना जोडिएको छ। उनको नाम उच्चारण गर्न मुक्ति सेनाका थुप्रै जवानलाई हम्मे पर्ने रहेछ। त्यसैले रक्षा दलमा भर्ना हुनुअघि ब्रिगेडियर मेजर हर्कबहादुर थापाले उनलाई बोलाएर भनेछन्, ‘तिमीलाई यहाँ (नेपालमा) सांगे छिरिङ लेप्चा भनेर चिनाउन गाह्रो पर्छ। त्यसैले अब तिम्रो नाम सुधीर लामा।’

ब्रिगेडियर मेजर हर्कबहादुरले मुक्ति सेनाबाट लडेका अर्का सिपाही शिला छिरिङ लेप्चाको पनि न्वारन गरिदिएका थिए, सतिश लामा।
सुधीर लामा दार्जीलिङमै हुँदा फुटबल खेल्थे। ‘३१ बंगाल डिफेन्स बटालियनमा’ भर्ना भएपछि उनको खेल झनै माझिएको थियो। कोलकाता बसाइक्रममा लामाले सर्भिसेसबाट फुटबल मात्र खेलेनन्, हकी, बास्केटबल र क्रिकेटमा पनि निपूण भए।
२००७ सालको परिवर्तनपछि तत्कालीन नेपाल फुटबल संघले अर्को वर्ष नै पहिलो आधिकारिक लिग आयोजना गर्ने निर्णय गरेको थियो। त्यतिबेला संघको अध्यक्ष थिए, नर शमशेर। उनले २००४ सालमा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले प्रदान गरेको रामजानकी कपलाई ब्युँताउँदै यसैको नाममा पहिलो लिग फुटबल गराउने घोषणा गरेका थिए। रक्षा बाहिनीको आइजी पनि नर शमशेर नै थिए। रक्षा दलमा भारतीय बटालियनमा काम गर्दा फुटबल खेलेका अनुभवी थुप्रै थिए। त्यसैले तत्कालीन आइजी नर शमशेरले रक्षा बाहिनीले रक्षा दलको नाममा फुटबल टोली घोषणा गर्नुअघि जिल्लामा छरिएका सबै खेलाडीलाई छनोटका लागि काठमाडौं झिकाएका थिए।
त्यतिबेला अहिलेजस्तै प्रशिक्षक नियुक्त गर्ने चलन थिएन। टोली बनाउन नर शमशेर आफैं कस्सिएर लागेका थिए। रक्षा दलको कप्तानको भूमिका लेफ्ट हाफ ब्याक नकुल शमशेरलाई सुम्पिएको थियो। उनी र नर शमशेर मिलेर खेलाडी छनोट गरेका थिए। नकुलले खेलाडीलाई नियमित अभ्यास गराउँथे। कहिले नर शमशेर आफैं अभ्यास सत्रमा समावेश हुन्थे।
रक्षा दलका खेलाडी दैनिक दुई समय अभ्यास गर्थे, बिहान ६ देखि ८ सम्म र बेलुका ४ देखि अँध्यारो नहुन्जेल। ‘बिहानै सिंहदरबारको ८–९ गोल चक्कर लगाएपछि अभ्यासका लागि ठ्याक्क ६ बजे मैदान पुगिसक्नुपथ्र्यो,’ ८६ वर्षे लामा सम्झन्छन्। कुन खेलाडी, कुन पोजिसनबाट खेल्ने त्यसको निर्णय कप्तानले नै गर्थे। ‘मेरो देब्रे खुट्टा निकै चल्थ्यो। त्यसैले मलाई लेफ्ट आउटबाट खेलाए,’ उनी भन्छन्।
२००८ सालमा सिंहदरबारमा पहिलो पल्ट लिग फुटबल हुँदा रक्षा दलसँगै नेपाल आर्मी, एनआरटी, ठमेल, डिल्लीबजार (महावीर), आजाद टिम, विद्या व्यायाम संघलगायत क्लब समावेश थिए।
पहिलो लिगमा रक्षा दलबाट गोलरक्षकका रूपमा पृथ्वीलाल सुब्बा, राइट ब्याकमा धैर्य चन्द्र, लेफ्ट ब्याकमा शिला छिरिङ लेप्चा (सतिश लामा), राइट लेफ्ट ब्याकमा सूर्यबहादुर राई, सेन्टर हाफमा रणधीर थापा, लेफ्ट हाफ ब्याकमा नकुल शमशेर, राइट आउटमा इन्दुकुमार थापा, राइट इनमा जीवन देवान, सेन्टरमा दिलीप सिंह आले, लेफ्ट इनमा सिवी चाम्लिङ, लेफ्ट आउटमा सांगे छिरिङ लेप्चा (सुधीर लामा) थिए।
यिनै खेलाडीको सहभागितामा रक्षा दलले २००८, २००९ र २०१० मा रामजानकी लिग जित्दै कप पच पारेको थियो। यही टोलीले २००९ र २०१० सालमा नकआउट प्रतियोगिताका रूपमा रहेको त्रिभुवन च्यालेन्ज सिल्ड पनि जितेको थियो।
रक्षा दलले जितेको नेपालको पहिलो लिग हेर्न सिंहदरबारभित्र दर्शकको घुइँचो लागेको थियो। अन्य क्लबभन्दा उत्कृष्ट खेल्ने यो क्लबको खेल हेर्न ब्ल्याकमा टिकट बिक्री हुन्थ्यो। रक्षा दलले प्रायः सबै टोलीलाई ३–४ गोल अन्तरले हरायो। आजाद टोलीलाई भने १४ गोल हान्यो।
‘म लेफ्टबाट बल दौडाउँदै विपक्षी एरियामा पुर्याएर दह्रो क्रस गर्थें। मेरो क्रसमा प्रायः दिलीप सिंह र जीवन देवानले गोल गर्थे,’ लामा भन्छन्। नेपाल आर्मीसँग भएको अन्तिम खेल हेर्न तत्कालीन राजा त्रिभुवन, युवराज महेन्द्र, बसुन्धरा र हिमालयन पनि सिंहदरबार पुगेका थिए। प्रजातन्त्रका लागि लडेको भन्दै सबैले रक्षा दलको पक्षमा समर्थन जनाएका थिए।
नेपाली फुटबलमा उनी मामाको नामले चिनिनुका पछाडि पनि कथा छ। रक्षा दलकै अर्का खेलाडी दिलीप सिंह नेपाल प्रहरीका पूर्व आइजी रोमबहादुर थापाको मामा पर्थे। सेन्टर फर्वार्डबाट खेल्ने दिलीप सिंहको खुट्टामा बल पुगेपछि रोमबहादुर बाहिरबाट खुब चिच्याउँथे, ‘कमन...मामा...मामा।’
तर, दिलीप सिंहको बानी थियो, खुट्टामा धेरै बल नराख्ने। उनी ‘वान टच’मै सुधीर लामालाई बल दिएर विपक्षी गोल पोस्टतर्फ दौडिहाल्थे। रोमबहादुरले बाहिरबाट मामा भनेर चिच्याउँदा प्रायः बल लामाको खुट्टामा हुन्थ्यो। त्यसैले बाहिरी दर्शकलाई लागेछ, लामा नै रोमबहादुरका मामा हुन्। त्यसपछि सबैले लामालाई मामा भनेर चिन्न थाले।
रक्षा दल २०१२ सालमा नेपाल पुलिस फोर्समा रूपान्तरण भए पनि सुधीर लामाले लामो समय फुटबल खेले। २०१३ सालमा नेपाल पुलिस फोर्सले त्रिभुवन च्यालेन्ज सिल्ड तेस्रो पल्ट जित्दा उनी टोलीका सदस्य थिए। उनले २०१६ सालसम्म पुलिसबाट फुटबल खेले। उनले २०४३ सालमा नेपाल प्रहरीको एसपी पदबाट अवकास पाए। उनका जेठा छोरा वाङ्देन लामा स्विमिङमा पहिलो साफको कास्य विजेता खेलाडी हुन्। वाङ्देन हाल राष्ट्रिय खेलकुद परिषद्मा स्विमिङ प्रशिक्षक छन्। लामा अहिले पनि रामजानकी कपको नाम परिवर्तन गरेको घटना सम्झँदा खुसी हुन्छन्। किनभने उनले सहिद स्मारक लिगको सिल्ड स्थापनाका लागि त्यतिबेला १५ रुपैयाँ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।