अकल्यान्ड (एजेन्सी)– अस्ट्रेलियाले टि–२० क्रिकेटमा अर्को कीर्तिमान बनाएको छ। उसले शुक्रबार टि–२० इतिहासमै सबैभन्दा ठूलो लक्ष्यलाई पछ्याएर जित हात पार्ने कीर्तिमान बनायो।
ईडन पार्कमा भइरहेको त्रिकोणात्मक टि–२० शृंखलाको पाँचौ खेलमा न्युजिल्यान्डले कंगारु टोली समक्ष २ सय ४४ रनको लक्ष्य राखेको थियो। जसलाई अस्ट्रेलियाले ७ बल खेल्न बाँकी रहँदै पुरा गर्यो। कंगारुले पाँच विकेटले जित हात पारेको हो।
अस्ट्रेलियाका लागि आर्की सर्टले ७६ र डेभिड वार्नरले ५९ रनको विष्फोटक इनिङ खेलेका थिए। टि–२० मा ठूलो लक्ष्यलाई पछ्याउँदै जित हात पारेको यो दूर्लभ घटना थियो। सन् २०१५ को जनवरी ११ मा दक्षिण अफ्रिकाले दिएको २ सय ३६ रनको लक्ष्यलाई वेष्ट इन्डिजले पुरा गरेको थियो।
किवी टिमका लागि मार्टिन गुप्टिलले ५४ बलमा ४ चौका र ९ छक्काको सहयोगले १ सय ५ रन बनाएका थिए। कोलिन मुनरोले पनि ३३ बलमा ६ छक्का र त्यति नै चौकाको सहयोगले ७६ रन बनाउँदै टिमको स्कोर २ सय ४३ पुर्याएका थिए।
अस्ट्रेलियका लागि वार्नर र सर्टले विस्फोटक व्याटिङ गर्दै ८ दशमलव ३ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए। लेग स्पिनर ईश सोढीले वार्नरलाई बोल्ड गर्दै उनीहरूको साझेदारी तोडेका थिए। क्रिस लिनले १८ रनको सहयोग गरे।
यसपछि ग्लेन म्याक्सवेलले १४ बलमा ३ चौका र २ छक्काको सहयोगले ३१ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।