सिमरा– रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ए डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र थ्रिस्टार बीच शनिबार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रिस्टार क्लबसँग फाइनल खेल्दैछ। थ्रिस्टार पहिलो पटक सिमरा गोल्डकपको उपाधि भिडन्तमा पुगेको हो।
२०७१ सालमा सम्पन्न छैठौं संस्करणको विजेता बनेपछि आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोश्रो पटक हो। गत वर्ष संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेताका रुपमा चित्त बुझाएको थियो।
नव जन जागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रिय स्तरको प्रतियोगिता हो। सिमरा गोल्डकपमा लक्ष्मी हुन्डाइ मनाङ मर्स्याङ्दी सर्वाधिक सफल टोली हो।
यसअघिका आठ संस्करणमा दुई पटक उपाधि जित्ने मनाङ एक्लो टोली हो। तर, लगातारको प्रतियोगिता खेल्दा खेलाडी घाइते भएको भन्दै मनाङले यसपटक भाग लिएन।
यस वर्ष आर्मी दोश्रो पटक उपाधि जित्ने प्रयासमा मैदानमा उत्रने छ भने पहिलोपटक फाइनल यात्रा तय गरेको थ्रिस्टार उपाधि विजेताको सूचीमा सामेल हुने दाउँमा छ।
एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा बीरगंज युनाइटेडलाई ३–० ले हराएको थियो। थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मोरङ फुटबल क्लब विराटनगरलाई ४–२ ले हराएको थियो।
सिमरा गोल्ड कपको यो संस्करणमा २ खेल खेलिसक्दा गोल नखाएका आर्मीका गोलकिपर बिकेश कुथुको नाममा सर्वाधिक क्लिनसिट रहेको छ। मोरङ ११ का कर्ण लिम्बु, थ्रिस्टारका सुनिल बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा अगाडि छन्।
शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए। आर्मीका तर्फबाट प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास तथा थ्रिस्टारका प्रशिक्षक मेघराज केसी र निराजन खड्का कन्फ्रेन्समा सहभागि थिए।
थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले फाइनलमा अर्को कुन टोली छ भन्नेलाई खासै महत्त्व नदिने दोहो¥याएका छन्। ‘हामीलाई फाइनलमा जोसुकै होस्, खासै फरक पर्दैन हामी जितका लागि खेल्नेछौं’, उनले भने, ‘निरन्तर मोफसलको प्रतियोगिता खेलिरहँदा खेलाडीहरुमा थकान रहेको छ तर बेन्चका खेलाडीहरु उत्कृष्ट रहेकाले टिमको प्रदर्शनमा कुनै समस्या आउँदैन।’
आर्मीका पूर्व प्रशिक्षक रहेका केसी दुवै क्लबको स्तर बराबर रहेको र जसले बढी मेहनत गर्न सक्यो उसले जित्ने बताउँछन्।
थ्रिस्टारका कप्तान निराजन खड्काले लगातार उपाधिको दौडमा रहँदा खेलाडीहरुमा सकारात्मक सोच रहेको बताए। पछिल्ला डेढ वर्ष थ्रिस्टारले नखेले पनि अन्य क्लबबाट आर्मी विरुद्ध खेलेको अनुभव सुनाउँदै उनले भने, ‘आर्मीको टिम अहिले उच्च फर्ममा छ तर खेलाडीहरुको सकारात्मक सोच र राम्रो खेल खेल्दै हामी उपाधि आफ्नो पक्षमा पार्ने छौं।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएका कारण खेल ५०÷५० हुने बताए। न्यौपाने भन्छन्, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ। लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गए पनि आफ्नो टिम अहिले राम्रो फर्ममा फर्किएको न्यौपानेको भनाइ छ।
आर्मीका कप्तान भारत खवासले पछिल्लो खेलहरु ठूलो स्कोरले जितेकाले मनोबल उच्च रहेको बताए । आफूहरु नतिजाको लागि खेल्न तयार रहेको जनाउँदै उत्कृष्ट खेलकै आधारमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। ‘हामी प्रतियोगिता जित्न भनेर आएको हो’, खवासले भने, ‘जित्छुु नै भनेर खेल्ने हो।’
आर्मीले सिमरा गोल्डकप जिते यो वर्षको पाँचौं उपाधी हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्रिस्टारले जित्न सके वर्षको दोस्रो सफल टोली बन्नेछ ।
पछिल्ला वर्षमा अधिकांश नकआउट फुटबलमा दाबेदार रहेको आर्मी यस वर्ष मोफसलका प्रतियोगितामा सर्वाधिक सफल क्लब हो। यस सिजन ८ प्रतियोगिता खेल्ने क्रममा ४ नकआउटको उपाधि जितेको थियो।
बैशाखमा बीरगंजमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुषमा झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालय काँकडभिट्टा गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो। त्यसयता भने टोलीको उपाधि जित्ने क्रममा ब्रेक लागेको छ।
आर्मीमा विभिन्न युवा समूह र राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको छ। यद्यपि आर्मीले खप्तडपछि खेलेको दुई प्रतियोगिता मदन भण्डारी स्मृति इटहरी गोल्ड कप र पोखरामा आयोजित आहा रारा गोल्डकपमा सुखद् नतिजा हात पार्न सकेन।
आर्मीका रक्षक जितेन्द्र कार्की घाइते भएका छन् भने रातो कार्डका कारण सेमिफाइनल खेल गुमाएका नवयुग श्रेष्ठ फाइनलमा खेलमा फर्किने छन्।
थ्रिस्टार झन्डै डेढ वर्षपछि फुटबलमा फर्कंदा कस्तो दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो थियो। धनगढीमा माघको पहिलो साता सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरामगन गरेपछि त्यहाँ दोस्रो खेल आर्मीसँग २–१ ले पराजित भएको थियो। त्यसपछि थ्रिस्टारले माघ १३ गते मनाङलाई हराउँदै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जित्दै पुरानै लयमा फर्कने संकेत गरेको थियो।
त्यसपछि खेलेको दुई प्रतियोगिता आहा रारा गोल्डकप (माघ २० गते) मा उपविजेता र बुढासुब्बा गोल्डकप (माघ २७) मा विजेता बन्न सफल भएको थियो। पुनरागमनपछि पहिलो उपाधिका रुपमा इटहरी गोल्ड कप जित्ने क्रममा थ्रिस्टारले आर्मीलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएको थियो। पछिल्ला दुई नकआउट आहा रारा र बुढासुब्बामा पुलिसको सामना गरेको थ्रिस्टारले सिमरामा अर्को विभागीय टोली आर्मीको सामना गर्दैछ। इटहरीपछि यी दुई टोलीबीच पहिलो पटक भेट हुँदैछ।
गत वर्ष पहिलो चरण पार गरेपछि एन्फाको गल्तीका कारण थ्रिस्टारले एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन। त्यसकै विरोधमा क्षतिपूर्ति नपाउँदासम्म एन्फाले आयोजना गर्ने र स्वीकृति दिएका कुनै प्रतियोगिता भाग नलिने कठोर निर्णय गरेको थियो। एन्फाको पछिल्लो साधारण सभाले १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेपछि थ्रिस्टार घरेलु फुटबलमा फर्केको थियो।
थ्रिस्टारका अग्रपंक्तिका दुई खेलाडी मार्टिन्स अजाइ र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन्। यसअघि कप्तान विक्रम लामा बुढासुब्बाको फाइनल खेल्दा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रिस्टारको कप्तानी सम्हालिरहेका छन्।
यस सिजनको हेड टु हेड
सुदूरपश्चिम खप्तड गोल्डकपः क्वार्टरफाइनल, थ्रिस्टार १–२ आर्मी
इटहरी गोल्डकपः सेमिफाइनल निर्धारित समय १–१, टाईब्रेकरः थ्रीस्टार ५–३ आर्मी
सिमरा गोल्ड कपको हालसम्मका उपाधि विजेता
२०७३– संकटा क्लब
२०७२– विजय युथ क्लब हेटौंडा
२०७१– त्रिभुवन आर्मी क्लब
२०७०– नव जनजागृति युवा क्लब सिमरा
२०६९– मनाङ मर्स्याङ्दी क्लब
२०६८– मनाङ मर्स्याङ्दी क्लब
२०६७– हिमालयन शेर्पा क्लब
२०६६– मजदुर सहिद स्मृति क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।