काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले आगामी चैत १४ मा हुने केन्द्रीय समितिको निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
श्रेष्ठले अध्यक्षमा मणी कुँवरलाई समर्थन गर्ने भएका हुन्। कुँवर एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्। 'आगामी महिना हुने केन्द्रीय समितिको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छु,' श्रेष्ठले नेपाल लाइभसँग भने, 'मेरो समर्थन मणी कुँवरलाई हुनेछ।'
कुँवर एन्फाका पूर्व अध्यक्ष गणेश थापाका सालो हुन्। कुँवरले शुक्रबार कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।
योसँगै आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र कुँवरबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। शेर्पाले गत साता नै उम्मेदवारी घोषणा गरिसकेका छन्।
एक वर्षअघि भएको अध्यक्षको निर्वाचनमा शेर्पालाई नरेन्द्र श्रेष्ठले पराजित गरेका थिए। एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेपछि बाँकी रहेको एक वर्षको कार्यकालका लागि विशेष साधारणसभाबाट नेतृत्व चुनिएको थियो। त्यतिबेला कुँवर उपाध्यक्षमा निर्वाचित भएका थिए। कुँवरले उपाध्यक्षमा दीपक खाती र उपेन्द्रमान सिंहलाई पछि पारेका थिए।
शेर्पाले नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन्। उनैले चलाएको 'सेभ नेपाली फुटबल' अभियानमार्फत एन्फामा दुई दशक नेतृत्व गरेका थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई १० वर्ष फुटबलबाट प्रतिबन्धमा परेका हुन्।
शेर्पासँग अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका कुँवरलाई गणेश थापाको समर्थन रहेको छ। प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा समर्थन जुटाउन नमिले पनि थापाले अप्रत्यक्ष रुपमा कुँवरका पक्षमा लबिङ गरिरहेका छन्।
शेर्पालाई भने एन्फाका पूर्व सिइओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र राष्ट्रिय टिमका पूर्वप्रशिक्षक कृष्ण थापाले समर्थन गरेका छन्। तुलाधर र थापाले अध्यक्षमा आफ्नो दाबी फिर्ता लिएर शेर्पालाई समर्थन गरेका हुन्।
शेर्पालाई एन्फाका उपाध्यक्षहरु किशोर राई, विजयनारायण मानन्धर र वीरबहादुर खड्काले पनि साथ छ।
यस्तै, अघिल्लो निर्वाचनमा अध्यक्षका आकांक्षी टासी घले र विज्ञानराज शर्माले पनि शेर्पालाई समर्थन गरेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।