काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल आयोजकसँग जिम्वाबेसँग खेल्ने भएको छ।
फागुन २० देखि जिम्वाबेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह 'बी' मा छ। समूहमा नेपाल र आयोजक जिम्वाबेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेलमा आयोजक जिम्वाबेसँग खेलेको चार दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसको २–२ पछि नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ।
त्यसअघि नेपालले २ वटा 'वार्मअप' खेल खेल्नेछ। नेपालले फागुन १५ मा युएई र फागुन १७ मा हङकङसँग वार्मअप खेल खेल्ने आइसिसीको आधिकारीक वेभ पोर्टलले जनाएको छ।
समूह 'ए' मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टीमबीच आगामी वर्ष हुने विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एदिवसीय मान्यता पाउँन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।
विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्वाबे विरुद्ध – क्विन्स स्पोट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोट्स क्लब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।