काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्यबाट कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिए पनि महराले सभामुखबाट मात्रै राजीनामा दिएका छन्।
मंगलबार डाकिएको सचिवालयको आकस्मिक बैठकले महराले आचरणविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्न सुझाव दिएको थियो।
'प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभाका सदस्य पदबाट राजिनामा दिएर छानबिन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ।'
उपसभामुख शिवमाया तुम्वाहाम्फेसमक्ष सभामुखको पदबाट राजीनामा दिएका महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन्। प्रतिनिधिसभा सदस्यले राजीनामा दिँदा सभामुखलाई बुझाउनुपर्छ। महराले सांसदको पदको छोड्दा पनि उपसभामुखलाई राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ।
महरा दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।