काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल विरुद्धको सरकारी दस्तखत तथा कीर्ते मुद्दाको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। तर, एमाले नेताहरुले दबाब दिएपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन दर्ता भएको छैन।
अनुसन्धानका क्रममा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकनको विवरण कीर्ते गरेको ठहर गर्दै प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन बुझाएको हो। आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकनको कागज सरकारसँग भएको भन्दा फरक भएको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वाेच्चले प्रहरीलाई पत्राचार गरेको थियो।
सोहीअनुसार प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन बुझाएको हो। स्रोतका अनुसार अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई असहयोग गरेको छ।
सरकारी वकिलमाथि सरकार पक्षका अधिकारीले मुद्दा चलाउन दबाब दिएका छन् भने सिलवाल निकट व्यक्ति तथा एमाले नेताहरुले मुद्दा नचलाउन चेतावनी दिँदै आएका छन्। जसकारण मुद्दा सरकारी वकिल कार्यालयले दर्ता गरेको छैन।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कीर्ते मुद्दाको फाइल सरकारी वकिल कार्यालय पुगिसकेको पुष्टि गरे। उलने भने, ‘म आउनुभन्दा अघि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगिसकेको थियो। मुद्दा प्रक्रिया अघि बढेको छ।’ पोखरेलले सोमबारदेखि काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका हुन्। उनीअघि रवीन्द्र धानुक महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।