काठमाडौं- वाम गठबन्धनका प्रमुख नेता पार्टी एकतालाई निष्कर्षमा पुर्याउन भन्दै निर्णायक छलफलमा जुटेका छन्। एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमती जुटाएका वाम गठबन्धनका दुई शीर्ष नेता त्यसलाई अन्तिम रुप दिन गोप्य छलफलमा जुटेका हुन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ललितपुरको मानभवनमा निर्णायक वार्तामा रहेको गठबन्धनकै नेताहरुले जनाएका छन्। दुई नेताले एकीकृत पार्टीमा शीर्ष नेताहरुको व्यवस्थापन र सैद्धान्तिक विषयमा टुङ्गो लगाउने बताइएको छ।
ओली र प्रचण्डले टुंग्याएका विषयलाई आजै बस्ने दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकले मूर्त रुप दिनेछ। एकता संयोजन समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भए पनि स्थानको टुङ्गो नलागेको एमाले अध्यक्षको निजी सचिवालयले जनाएको छ।
दुवै दलका नेताले एकीकृत पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' राख्ने र पार्टी नेतृत्वमा दुवै नेता रहने सहमति गरेका छन्। माओवादीको दाबी अनुसार सरकारमा समेत दुवै नेताले आलोपालो नेतृत्व गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।