काठमाडौं- नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक क्याथल्याब सेवा उद्घाटन गरेको छ। विश्व मुटु दिवसका अवसर पारेर कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन्। 
नयाँ क्याथल्याब नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्याबपछिको तेस्रो पुस्ताको क्याथल्याब हो। नविनतम सुविधा र प्रविधिले सुसज्जित सो सेवा मुटुका रक्तनली,हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित र छिटो सकिन्छ। 
यसका साथै नर्भिकले विविध कार्यक्रम गरी शनिबार विश्व मुटु दिवस मनाएको छ। विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिना २९ मा यो दिवस मनाइन्छ। यो दिवस मनाउन २००२ देखि सुरु भएको हो। 
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवनयापन गर्दै आएका बिरामीसमेत सहभागी थिए। अध्यक्ष चौधरीको अध्यक्षत्वमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए। 

नर्भिक बहुआयामिक, बहु विशेषता भएको हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेट सम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत नर्भिकको सेवा उच्चस्तरको रहेको डा. भट्टको भनाइ थियो।  गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका डा. प्रेम राज वैद्यले नर्भिकमा आफूले उपचार अनुभव सेयर गरेका थिए। 
विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहीआएको छ।
सूर्ती तथा सूर्तीजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार-व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन्  र रोगीहरु बढ्दै गइरहेका छन्। हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन्। नेपालमा पनि शहरी जनसंख्याको करिब ७ देखि ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन्।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षामूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रम गरिन्छ।
यस वर्षको विश्व मुटु दिवसको नारा 'स्वस्थ मुटुको नायक बनौं' रहेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।