काठमाडौं- वाम गठबन्धनका शीर्ष दुई नेता केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज भएको वार्ता सकिएको छ।
ललितपुरको मानभवनमा भएको भेटवार्तामा दुवै नेताले करिब ४० मिनेट संवाद गरेका थिए। वार्ता सकारात्मक भएको स्रोतले जनाएको छ। दुवै दलका नेताले भोलि पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरेका छन्। माओवादी अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार कार्यदल सदस्यको समय अनुसार भोलिको बैठक तय गरिनेछ।
एकता संयोजन समितिको बैठकले सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्नेछ।
यसअघि दुई नेताबीच भएको वार्तामा एकीकृत पार्टीको नेतृत्वको विषयमा सहमति जुटेको थियो। एकीकृत पार्टीको अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो। सरकारको नेतृत्व भने सुरुमा एमाले अध्यक्ष ओलीले गर्ने दुवै दलको समझदारी छ।
आजको बैठक पार्टीका अन्य नेताहरुको व्यवस्थापन र सैद्धान्तिक विषय मिलाउनमा केन्द्रित थियो। दुवै दलका शीर्ष तहका नेताहरु समावेश गरेर सानो कमिटी बनाउने तयारी प्रमुख नेताले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।