काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोहन वैद्य र नेत्रविक्रम चन्द 'विप्लव'लाई समाजवादी क्रान्तिको नयाँ अभियानमा सरिक हुन आग्रह गरेका छन्।
जनयुद्ध दिवसको २३औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी अभियानको नयाँ क्रान्तिमा लाग्न सम्पूर्ण नेता-कार्यकर्तालाई आग्रह गरे।
‘वैद्य र विप्लवजीले क्रान्तिको दिवा सपनाबाट यथार्थको धरालतमा टेकेर अगाडि बढ्न आवश्यक छ’, अध्यक्ष दाहालले भने, ‘रहर र लहडले क्रान्ति हुँदैन, त्यसो हुने भए दुनियाँ अर्कै हुन्थ्यो।’
क्रान्तिका लागि जनता आवश्यक पर्ने भन्दै दाहालले जनताको चाहाना विपरीत क्रान्ति सम्भव हुन नसक्ने बताए।
‘विप्लवजी र मेरा गुरु भनेर चिनिने वैद्यजीलाई दिवा सपनाबाट बिउँझिन म आजको दिनमा विशेषभन्दा विशेष रुपमा जोड दिएर अपिल गर्न चाहन्छु’, उनले भने।
समयले सबै कम्युनिस्ट पार्टी एकीकृत भएर समृद्ध देश बनाउने मौका दिएको अध्यक्ष दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।