सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिकाका पदम भण्डारी सोमबार रातिदेखि भारी हिमपात भएपछि खुसी छन्। तर, हुम्लाकै जिल्ला सदरमुकाम सिमीकोटका हर्षदेव रोकाय भने लगातारको हिमपातका कारण दैनिकी कष्टकर बनेको बताउँछन्।
पछिल्लो केही दिनदेखि प्रदेश नम्बर ६ का हिमाली जिल्लामा हिमपात भएपछि कतै खुसीयाली छाएको छ भने कतिपय समस्यामा परेका छन्। हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। तर, हिउँले बालीनाली सप्रने भएपछि किसान भने खुसी भएका छन्।
नाम्खाका पदम भण्डारी भन्छन्, ‘हिउँदे जटामसी र उवा लगाएको छु, हिउँ नपर्दा उत्पादन घट्ने चिन्ता लागिरहेको थियो, अब भने बाली सप्रने भयो।’
लामो समयपछि हिमपात हुँदा हिउदेबाली जटामसी, जौं, गहुँ, उवा लगायतका बाली सप्रने स्थानीय किसान बताउँछन्। लामो खडेरीपछि हिमपात भएकाले उत्पादनमा वृद्धि हुने आशा स्थानीयले गरेका छन्।
जिल्ला सदरमुकाम सिमीकोटमा नै एक फिटभन्दा बढी हिउँ जमेको छ। त्यसैगरी जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाका लिमी, हल्जी, चाला र मुचु, यारी लगायत गाउँमा दुई फिटभन्दा बढी हिउँ जमेको नाम्खा गाउँपालिका ४ का वडा अध्यक्ष साङगे तामाङले जानकारी दिए।
उत्तरी क्षेत्रका सबै गाउँहरुको तापक्रम माइनस १० भन्दा तल झरेको सिमकोट विमानस्थलका प्रमुख भीमदत्त पन्थले जानकारी दिए। हुम्ला जिल्लाका उत्तरी भेगका गाउँहरुमा अहिले मानिसहरु अत्यधिक चिसोका कारण घर बाहिर निस्कन नसकेको उनले जनाए।
हिमाली जिल्लाहरु हुम्ला, मुगु, जुम्ला र डोल्पामा पछिल्लो दुई दिनमा भारी हिमपात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।