इटहरी– मर्निङ वाक। योगा। पत्रपत्रिका अध्ययन।
उमेरले आठ दशक पार गरेका तेजप्रसाद सिटौलाको बिहानी रुटिन हो यो।
बिहान ८ बजेतिर मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित उनको निवास पुग्दा पत्रिका पढिसकेर चिया पिउँदै थिए उनी। देश-विदेशमा भएका राजनीतिक र समसामयिक विषयबारे उनी सधैं जानकार रहन्छन्।
कुराकानीको सुरुवातमै राजनीतिक विषयमा प्रवेश गरिहाले। उनको चिन्ताचाहिँ नेपाली कांग्रेसको पछिल्लो अवस्थाबारे रहेछ।
उनी आफै पनि कांग्रेसका पुराना नेता हुन्। 'बिपी कोइरालाको विचारबाटै प्रभावित भएर म कांग्रेसमा लागेको हुँ,' उनी भन्छन्, 'कांग्रेसमा भविष्य छ भन्ने विश्वास थियो। अझै पनि भरोसा कम भएको छैन। तर अवस्था डामाडोल देख्छु।'
ठूलो अवसर पाएर पनि कांग्रेसले त्यसलाई सदुपयोग नगरेकोमा उनको चिन्ता छ। सरकार अलोकप्रिय भइरहेको बेला कांग्रेस अलमलिएको उनको बुझाइ छ।
बिपीसँगको भेट र संगत
बिपी कोइरालालाई भेट्नुअगाडि नै आफू बिपीको 'फ्यान' भइसकेको सुनाउँछन् उनी। भेटेपछि त उनमा रानजनीतिको नशा नै जागृत भयो।
‘बिपीलाई नदेखी पनि उहाँको कसैले विरोध गर्यो भने रिस उठ्थ्यो,’ उनी भन्छन्, ‘उहाँसँग भेट भएपछि धेरै कुरा भए। त्यसबेला मलाई बिपी एकदमै तेजस्वी लाग्यो।’
इलामका तत्कालीन कांग्रेस सभापति थिए, कृष्णप्रसाद प्रसाईं। सिटौलालाई पहिलो पटक बिपीसँग उनैले भेट गराएका थिए। त्यो बेला बिपी प्रधानमन्त्री थिए। जतिखेर सिटौला तरुणदलमा आबद्ध थिए। बिपीसँगको पहिलो भेटमा खासै कुराकानी भने हुन पाएन। आफ्नो भविष्यप्रति ध्यान दिन बिपीले सुझाव दिएको सम्झन्छन् सिटौला।

२०१७ पुस १ गते तरुणदलको अधिवेशनको मिति तय भएको थियो। सिटौला इलामबाट प्रतिनिधित्व गर्दै अधिवेशनमा सहभागी भएका थिए। बिपी, गणेशमान लगायतका नेता-कार्यकर्ताको ठूलो जमात थियो। सोही दिन नेपाली सेनाको एक टुकडीले बिपीलाई अपहरण शैलीमा लिएर गयो।
राजा महेन्द्रले कू गरी पुस १ गते सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका थिए। त्यसै दिनदेखि राजसंस्थाको पतन सुरु भएको सिटौलाको बुझाइ छ। बिपीलाई उनले भेट्न चाहे तर जेलमा भेट्न दिइएन। त्यसपछि उनी राजनीतिमा खासै सक्रिय भएनन्। साहित्यिक रचनातर्फ लागे। 'तेजप्रसादका कथाहरु' नामक कथासंग्रह त्यही बेला प्रकाशित गरे।
त्यसबीच कुनै राजनीतिक गतिविधि गर्ने मौका पाएनन्। त्यो बेला पढेलेखेमा मध्ये गनिन्थे उनी। त्यही बेला स्नातकोत्तर सकेका उनी अमेरिका जाने निर्णयमा पुगे। त्यहाँ उनी पढाउन थाले।
सिटौला अमेरिका पुगेकै दिन यता बिपी छुटे। एक महिनामै उनी नेपाल फर्किए। र, भारतको बनासरतिर हान्निए। किनकि बिपी बनारस निर्वासित थिए। उनी बिपी बसेकै ठाउँमा पुगे।
बिहानीपख भेट्न जाँदा उनले मन्दिरको माला लगाएका थिए। बिपीले माला नियाल्दै सोधेछन्, 'धर्ममा विश्वास छ?'
सिटौलाको जवाफ थियो, 'छ।'
'यही धर्मका नाममा एक हजार वर्ष युद्ध भएको थाहा छ?'
‘त्यो पनि थाहा छ भनेँ,’ सिटौला सम्झन्छन्, 'हो! धर्ममा, युवायुवतीमा र नेतामा पनि मोहनी हुन्छ। त्यो मोहनीले मानिसको लक्ष्य निर्धारण भइरहेको हुन्छ भनेर बिपीले भन्नुभयो।’
पहिलो दिनको भेट सकेर उनी फर्किए। त्यसदिन उनी अरु साथीसँग गएको थिए। ‘त्यसैले बिपी बाबुले धेरै कुरा भन्नुभएन। भोलिपल्ट एक्लै आउनु भन्दै बोलाउनुभयो,’ उनी सम्झन्छन्।
भोलिपल्ट पनि उनी सखारै बिपीको कोठामा पुगे। उनी भर्खरै नुहाएर बसेका रहेछन्। सिटौला कोठामा छिरेपछि बिपीले सोधे, 'राजनीति गर्ने नै सोच हो?'
‘राजनीति गर्नेकै लागि लागिरा'छु भनेपछि बिपी एकछिन मौन हुनुभयो। त्यसपछि उहाँले भन्नुभयो- राजनीति गर्ने मान्छेले सबै कुरा त्याग्नुपर्छ। छोराछोरी, श्रीमती, परिवार र सम्पत्ति केही भन्न हुँदैन,' सिटौला ती दिनतिर फर्किए।
अबको आफ्नो योजनाबारे पनि उनले सुनाए, 'गिरिजाबाबु, किसुनजी र बिपीसँगको कुराकानीलाई समेटेर पुस्तक निकाल्ने योजनामा छु।'
बिपीले आफूलाई थोरै मान्छे भए पुग्ने बताएका थिए। मान्छे धेरै होइन थोरै 'क्वालिटी'का मान्छे भए पुग्ने बिपीको भनाइ उनी सम्झन्छन्।
'राजनीति गर्नेले घीन मान्न नहुने बिपीको बुझाइ थियो,' सिटौला थप्छन्, 'रानीति गर्नेले सबैभन्दा विकृत मानिएको वेश्यालय पनि सुन्दर मान्नुपर्ने हुन्छ। वेश्यालयमा गए पनि भोट माग्ने क्षमता राख्नुपर्छ। राजनीतिमा विश्वासको सीमा हुनुपर्छ भन्नेर सम्झाउनुहुन्थ्यो।'
बिपीले त्यही दिन उनलाई तेह्रथुम जान भनेका थिए। बिपीबाट प्रेरित सिटौलाले नमान्ने कुरै थिएन। 'उहाँले नभनेको भए म तेह्रथुम जाने थिइनँ,’ उनी सम्झन्छन्, ‘त्यसपछि म तेह्रथुम गएँ। तर संगठन गर्ने अवस्था थिएन। रातिराति भूमिगत भएर एक्लै कुद्थेँ।’
त्यतिबेला उनको परिवार मोरङमा बसाइँ सरिसकेको थियो। तर पनि बिपीले भनेपछि मान्नैपर्छ भन्ने लागेर तेह्रथुममै बस्न थाले सिटौला।
२०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने भए बिपी। सिटौलालाई पनि भारतको पूर्णियासम्म आउन निम्तो पुग्यो। खुसी हुँदै पूर्णिया पुगे उनी। दुई दिनपछि पटनामा बृहत् कार्यक्रमको आयोजना गरिएको थियो। बिपीको योगदानको व्याख्या गर्दै भारतीय नेताहरु भावुक भएको सम्झिन्छन् सिटौला।
बिपी काठमाडौं फर्किने कार्यक्रम तय भयो। स्वागत गर्न सिटौला लगायत कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उत्रनसाथा बिपी विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परे। त्यहाँ पुगेका नेता कार्यकर्तामाथि पनि दमन गरियो। बिपीलाई सुन्दरीजल जेल पुर्याइयो।
उक्त घटनापछि सिटौला पुन: जिल्ला गए। तर संगठन गर्ने अवस्था थिएन। पछि बिपी छुटेपछि २०३६ सालमा जनमत संग्रह भयो। कांग्रेस पराजित भएपछि पछि मेची-महाकाली अभियान सुरु भयो।
'२०३९ सालमा बिपी बित्नुभयो। बिपीले त्योभन्दा अगाडि नै पर्शुनारायण चौधरीलाई ऊ मेरो भविष्यको प्रधानमन्त्री हो भन्नुहुन्थ्यो। तर पछि उनले पार्टी छाडे,' प्रधानमन्त्रीको धङधङी लागेर चौधरीले पार्टी छाडेको सिटौलाको बुझाइ छ।
किताब निकाल्ने योजना
बिपीपछि कांग्रेसमा गणेशमान सिंह सर्वोच्च नेता बने। कृष्णप्रसाद भट्टराई पार्टी सभापति बने। किसुनजी ठट्टा गर्ने तर एकदमै गहन कुरा गर्ने खालका नेता भएको बताउँछन्, सिटौला। 'बौद्धिकताका लागि बिपीपछाडि किसुनजी नै हुन्,' उनी भन्छन्।

लामो समय राजनीतिक यात्रा गरेका सिटौला लाभको पदका भने पुग्न सकेनन्। २०६३ सालमा नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य भए। पछि सुकुम्बासी आयोगको उपाध्यक्ष बने। त्यसपछि उनको उमेरले पनि साथ दिन छाड्यो। भर्खरै ८० लागेका उनी जवानझैं हिँडडुल गर्छन्। राजनीतिक र दार्शनिक पुस्तक अध्ययनमै उनको दैनिकी बित्ने गरेको छ।
त्यो बेलाको राजनीति र अहिलेको राजनीतिबीच उनी बेलाबेला तुलना गर्छन् र आफै खिन्न हुन्छन्। कहीँ नभएको धर्म निरपेक्षताको एजेन्डा ल्याएर विवाद सिर्जना गर्न खोजेको उनको बुझाइ छ। पद र पैसामा धर्म बिक्री भएको मान्छन् उनी। 'नेताको सानो गल्तीले मुलुकले कति ठूलो क्षति बेहोर्नुपरिरहेको छ भन्ने कुरा यस्तै घटनाले पुष्टि गर्छ,' उनको तर्क छ।
अबको आफ्नो योजनाबारे पनि उनले सुनाए, 'गिरिजाबाबु, किसुनजी र बिपीसँगको कुराकानीलाई समेटेर पुस्तक निकाल्ने योजनामा छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।