राजविराज- कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणमा परी सप्तरीमा मंगलबार दुई महिलाको मृत्यु भएको छ। दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गर्दा हात्तीको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो।
कञ्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मञ्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षिया पत्नी दुर्गीदेवीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। उनीहरुसँगै रहेकी २२ वर्षिया बुधनीदेवी सरदारले भने भागेर ज्यान बचाएकी छन्।
मध्याह्न १२ बजे दाउरा खोज्दै आरक्षको बाँधमा पुग्नासाथ उनीहरुलाई हात्तीले लखेटेको थियो। भाग्ने क्रममा आफू बाँचे पनि अन्य दुई जनाको मृत्यु भएको सरदारले बताइन्।
मृतक दुवैको शव पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डिल्ली चौहानले बताए।
सप्तरीमा हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी यसअघि कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ।
सम्बन्धित समाचार : जंगली जनावरको आतंक : मृत्युसँग जुधिरहेछन् आरक्ष क्षेत्रका बासिन्दा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।