गोरखा– भीमसेन थापा गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद पुनः सुरु भएको छ। केन्द्र सम्बन्धी विवादमा यसअघि जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकको सहमती पालना नभएको भन्दै असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ।
केन्द्र परिवर्तनको निर्णयसँगै गत माघ ७ मा गाउँपालिका कार्यालयमा ताला लागेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले ती नबुँदे समझदारी गरी माघ ८ बाटमा ताला खोल्ने निर्णय गरेको थियो। केन्द्र विवादका कारण १८ दिनसम्म चलेको आन्दोलन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको समन्वयमा राजनीतिक दलका प्रतिनिधिहरुबीचको बैठकले तीन बुँदे सहमती गरी टुंग्याएको थियो। सहमतिपछि वडा नम्बर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।
संघर्ष समितिले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गाउँपालिका प्रमुखलाई कारण देखाउ आदेश जारी गरेरको अवस्थामा अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्ने, गाउँपालिका प्रमुख र उपप्रमुख साविककै केन्द्र बगुवामा उपस्थित भएर सेवा दिने, फागुन २ अगाडि राजनीतिक दलबीच बैठक बसी समझदारीको वातावरण निर्माण गर्ने जस्ता सहमती पालना नभएको र उल्टै गाउँपालिका प्रमुखले शान्ति सुव्यवस्था भड्काउन खोजेको आरोप लगाउँदै पुनः संघर्षको कार्यक्रम घोषणा गरिएको छ। संघर्ष समितिसहित जिल्लामा क्रियाशील केही राजनितिक दलले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
संघर्ष समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लोकप्रसाद वञ्जरा, नेकपा एमालेका प्रदीपसिंह क्षेत्री, नयाँ शक्ति पार्टी नेपालका रोहित पाण्डे, नेपाल कम्युनिस्ट पार्टीका दीपक बोहोरा र परिवार दलका रवीन्द्र थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशको पत्र नबुझेको, बुझ्न गएका कर्मचारीलाई गाउँपालिका प्रमुखले गालीगलौज गरेको, विवाद सुल्झाउन गर्ने भनिएको जिल्ला स्तरीय सर्वपक्षिय बैठक नगरिएको’ उल्लेख छ ।
संघर्ष समितिमा आबद्ध स्थानीय युवा कार्यकताले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। गाउँपालिका प्रमुख ईश्वर पाण्डे सहमतिप्रति इमान्दार नभएकाले भीमसेनबासीले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको संघर्ष समितिका संयोजक एवं वडा नम्बर ५ का अध्यक्ष श्रेष्ठले बताए।
स्थानीय तहको निर्वाचन भएको ६ महिनाभित्र बहुमतले गाउँपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्ने कानुनी प्रावधान छ। सोही अनुसार गाउँपालिकाको नामसमेत परिर्वतन गरेर भीमसेन थापा गाउँपालिका बनाइएको छ। नेपाली कांग्रेसको बहुमत रहेको भीमसेन गाउँपालिकामा हाल वडा नम्बर ४ बगुवामा रहेको गाउँपालिकाको केन्द्र वडा नम्बर १ घ्याम्पेसालमा सार्ने निर्णय मन्त्रिपरिषदले पारित गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।