जोहनेसवर्ग (एजेन्सी)– दक्षिण अफ्रिकाले भारतविरूद्ध चौथो एकदिवसीय जितेपछि टिमको आत्मविश्वास चुलिएको छ। तर, खेल दौरान एउटा यस्तो घटना भयो, जसले अफ्रिकी स्पिनर इमरान ताहिरलाई निकै रिस उठेको छ। उनले दाबी गरेका छन्, खेल दौरान जोहनेसवर्गको न्यु वान्डर्स रंगशालामा ड्रेसिङ रुममा फर्किने क्रममा एक दर्शकले उनीविरूद्ध जातीय टिप्पणी गरेका थिए।
अफ्रिकी क्रिकेट संघले पनि उनीविरूद्ध जातीय भेदभाव हुने टिप्पणी भएको बताएको छ। चौथो खेलमा उनी ‘प्लेइङ इलेभेन’ मा थिएनन्। उनी १२ औं खेलाडीको रुममा टिममा समावेश थिए।
अफ्रिकी टिमका व्यवस्थापक मोहम्मद मुसाजीले भने, ‘इमरानसँग कुरा भएपछि थाहा भयो, उनलाई पूरै खेल अवधिभर एक व्यक्तिले जातीय मुद्दा उठाउँदै गाली गरेको थियो। उनले ड्रेसिङ रुमअगाडि उभिएका सुरक्षाकर्मीलाई यसको सूचना दिएपछि त्यो व्यक्तिलाई हेर्न दुई सुरक्षाकर्मी गएका थिए। घटना उनी ड्रेसिङ रुमतर्फ फर्किने क्रममै भएको हो।’
मुसाजीले भने, ‘इमरानले बताएअनुसार त्यो व्यक्ति भारतीय प्रशंसक थियो।’ सुरक्षाकर्मीले यस्तो टिप्पणी गर्ने व्यक्तिलाई स्टेडियमबाट बाहिर पठाएको उनले जानकारी दिए। यो घटनाको जाँच अफ्रिकी क्रिकेट संघ र स्टेडियमको सुरक्षा निकायले गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।