म्यानचेष्टर (एजेन्सी)– मैदानमा आफ्नो खेलले सबैलाई अचम्मित पार्ने अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी अप्रत्यासित नतिजापछि मैदानमा भावुक बनेको धेरैले देखेका होलान्। तर, उनी रुँदै गरेको दृश्य सायदै कसैले देखेका छन्।
मेसी कुनै एउटा खेलपछि रोएको खुलासा इंग्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजले गरेका छन्। सान्चेज २०११ देखि २०१४ सम्म मेसीसँगै स्पेनिस क्लब बार्सिलोनामा आबद्ध थिए। चिलीका यी खेलाडीले स्काई स्पोर्ट्सलाई यसको जानकारी दिएका हुन्।
उनले भने,‘बार्सिलोनाले चेल्सीसँग पराजय भोगेपछि मैले लियो (मेसी) लाई रुँदै गरेको देखेँ।’ सन् २०१२ को च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको खेलमा मेसी पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। त्यतिबेला बार्सिलोनाले २–० को अग्रता लिएपनि अन्ततः २–२ को बराबरी खेल्दै समग्रमा ३–२ ले पराजय भोगेको थियो। दोस्रो लेगको खेलमा जोन टेरी रातो कार्ड पाएर चेल्सी १० खेलाडीमा खुम्चिँदा पनि बार्सिलोना सेमिफाइनलमा रोकिएको थियो।
सान्चेजले खेलाडीले आफूसँग पनि थुप्रै कुराको अपेक्षा गर्ने हुँदा कहिलेकाहीँ त्यो अनुरुप नतिजा निस्किन नसक्दा भावुक बन्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।