प्योङचाङ- शीतकालीन ओलम्पिकअन्तर्गत संयुक्त कोरियाली महिला आइस हक्की टोली समूह चरणको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ। क्वाङडोङ हक्की सेन्टरमा गएराति भएको खेलमा कोरियाली टोलीले स्विडेनसँग ८–० गोल अन्तरको हार बेहोरेको हो।
ओलम्पिक सुरु हुनु अघि स्विडेनसँग भएको मैत्रीपूर्ण खेलमा पनि संयुक्त टोली पराजित भएको थियो। ओलम्पिकको तयारी स्वरुप भएको एक मात्र अभ्यास खेलमा संयुक्त टोलीमाथि स्विडेन ३–१ ले विजयी भएको थियो।

अभ्यास खेलमा कम गोलअन्तरले पराजित भए पनि यस पटक भने कोरियाली टोलीले स्विडेनको गोल वर्षालाई रोक्न सकेनन्।
प्रतियोगितामा दुबै खेलमा पराजय बेहोरेपछि ऐतिहासिक सहभागिता मानिएको संयुक्त कोरियाली टोलीलाई प्ले अफ खेल्ने बाटो साँघुरो बनेकोे छ। आफ्नो अन्तिम खेलमा अब संयुक्त कोरियाली टोलीले छिमेकी राष्ट्र जापानको सामना गर्नेछ।
समूह ‘बी’ को अर्को खेलमा सन् २०१४ को सोची ओलम्पिकमा कास्य पदक हात पारेको स्विजरल्यान्डले दोस्रो जीत हात पारेको छ। उसले एसियाली च्याम्पियन राष्ट्र जापानलाई ३–१ गोल अन्तरले पारजित गरेको हो।

सो जीतसँगै स्विजरल्यान्ड दुबै खेल जित्दै शिर्षस्थानमा रहँदा एक खेलमा जीत र एक खेलमा हार बेहोरेको स्विडेन दोस्रो स्थानमा छ।
८ टोलीको सहभागिता रहेको प्रतियोगितामा २ वटा समूह बनाइ खेल खेलाइएको छ।
समूह ‘ए’ मा भने डिफेन्डिङ च्याम्पियन क्यानडा शिर्ष स्थानमा रहँदा सोची ओलम्पिकमा रजत हात पारेको अमेरिका दोस्रो स्थानमा छ। रसियाबाट स्वतन्त्र प्रतिनिधित्व गरेको महिला हक्की टोली चौथोँ स्थानमा रहँदा गोल अन्तरका आधारमा फिनल्याण्ड एक स्थान अघि छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।