काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले सोमबार केन्यामाथि ३ विकेटको रोमाञ्चक जित हात पार्यो।
१ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको थियो। खराब सुरुवात गरेको नेपालको ५ विकेट गुमाउँदा ८२ रनमा थियो। महत्वपूर्ण ब्याट्सम्यान गुमाइसकेको अवस्थानमा क्रिजमा थिए युवा खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेल। दुवै खेलाडीको काँधमा रन बटुल्ने मात्र जिम्मा थिएन, विकेट टिकाउनु पनि थियो। यो अवस्थामा दुई खेलाडीले सुरुवातमा विकेट टिकाउने रणनीति लिए। विकेट टिकाउँदा नेपालको आवश्यक रन बढिरहेको थियो।
४१ ओभरको खेल सकिँदा नेपालको आवश्यक रनरेट ६.४४ थियो। दबाबमा रहेको नेपालका लागि ४२औं ओभरको खेल टर्निङ प्वाइन्ट बन्यो। यो ओभरमा नेपालले ११ रन जोडेको थियो। यो ओभरमा आरिफले २ चौका प्रहार गरेका थिए। ४३ ओभरमा पनि नेपालले ७ रन जोडेपछि दुवै ब्याट्सम्यान दबाब मुक्त भए।
दुईबीचको साझेदारी ४९ ओभरको पहिलो बलमा तोडिएको थियो। आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। यो साझेदारी २४.५ ओभरसम्म चलेको थियो। आरिफ ४२ रनमा आउट भए। उनले ८२ बल खेल्दा २ चौका प्रहार गरे।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो। अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट हुँदा नेपाल दबाबमा पर्यो। रोहित ४७ रनमा रनआउट भए। उनले ८६ बलमा १ चौका प्रहार गरे। नेपाललाई अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा सोमपाल कामीले २ रन नै लिएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो। सोमपाल ५ रनमा नटआउट रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।