काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्याले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ। खेलमा नेपालले ३ विकेट गुमाइसकेको छ।
खेलमा डेब्यु गरेका निलकुमार साह दोस्रो ओभरमा शून्य रनमा आउट भए। यसअघिका तीन खेलमा मौका नपाएका अनिललाई विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा खेलाइएको हो।
यस्तै ओपनर ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका छन्। उनले १४ बल खेल्दा १ चौका हिर्काए। दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए।
तीन वटै विकेट केन्याका इम्यानुएल बुन्डीले लिएका छन्।
नेपालले ७ ओभरमा ३ विकेट गुमाएर २१ रन जोडेको छ।
अहिले कप्तान पारस खड्का र शरद भेषावकर ब्याटिङ गरिरहेका छन्।
यसअघि नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्यो।
केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे।
सन्दीपले लिस्ट 'ए' करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिँदा ५ मेडन राखे। यसअघि उनको लिस्ट 'ए' करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यही प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट 'ए'को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
केन्या विरुद्ध नेपाललाई महत्वपूर्ण विकेट दिलाउने क्रममा सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। सन्दीपको विकेटसँगै नेपालले केन्याको ६५ रनको प्रारम्भिक साझेदारी तोड्न सफल भएको थियो। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहँदा बोल्ड गरेका थिए।
यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहँदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके।
आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे। उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए।
बसन्तले केन्याका ओपनर इरफान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। सोमपाल कामीले कोलिन ओवुयालाई १० रनमा बोल्ड गरे। शरदले गुरदिप सिंहलाई २ रनमा बोल्ड गरे।
यसअघि नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।