काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानले उत्कृषट बलिङ गरे। उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले केन्यालाई १ सय ७८ रनमा रोक्न सफल भयो।
सन्दीपले डिभिजन–२ मा लगातार राम्रो बलिङ गरेपछि आइपिएल टिम दिल्ली डेयरडेभिल्सले प्रशंसा गरिरहेको छ। दिल्लीले सोमबार पनि सन्दीपको बलिङको प्रशंसामा सामाजिक सञ्जालमा पोस्ट गरेको छ। उसले भनेको छ,'ह्वट अ स्पेल । सन्दीपले प्रतियोगितामा पहिलोपटक ५ विकेट लिन सफल भएका छन्। '
सन्दीपलाई दिल्लीले २ साताअघि २० लाख भारुमा आफ्नो टिममा आवद्ध गरेको थियो। त्यसयता उसले सन्दीपबारे लगातार पोस्ट गरिरहेको छ।
खेलमा उनले लिस्ट 'ए' करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका थिए। प्रतियोगिताका चार खेलमा सन्दीपले १४ विकेट लिइसकेका छन्।
उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट 'ए'को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
सोमबार केन्या विरुद्ध नेपाललाई महत्वपूर्ण विकेट दिलाउने क्रममा सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। सन्दीपको विकेटसँगै नेपालले केन्याको ६५ रनको प्रारम्भिक साझेदारी तोड्न सफल भएको थियो। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए।
यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके।
आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे। उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।