काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट 'ए' करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन्।
उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट 'ए'को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
सोमबार केन्या विरुद्ध नेपाललाई महत्वपूर्ण विकेट दिलाउने क्रममा सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। सन्दीपको विकेटसँगै नेपालले केन्याको ६५ रनको प्रारम्भिक साझेदारी तोड्न सफल भएको थियो। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए।
यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके।
आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे। उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।