काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन्। बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकरले १–१ विकेट हात पारेका छन्। सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए। यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके। सन्दीपले ८ ओभर बलिङ गर्दा ५ मेडन राखिसकेका छन् । उनले १२ रन खर्चिएका छन्।
बसन्तले केन्याका ओपनर इर्फान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। सोमपाल कामीले कोलिन ओवुयालाई १० रनमा बोल्ड गरे। शरदले गुरदिप सिंहलाई २ रनमा बोल्ड गरे।
ब्याटिङ गरिरहेको केन्याले ४४ ओभरमा ७ विकेट गुमाएर १३४ रन जोडेको छ।
यसअघिका नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।